गाउँले न्युज, सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको थुलुङदूधकोशी गाउँपालिकाले सञ्चालन गरेको घुम्ति शिविरबाट ५७२ जना स्थानीयले सरकारी सेवा लिएका छन् ।
गाउँपालिकाको केन्द्रमा आउन नसकेर तथा विभिन्न कारणले सेवाबाट बञ्चित भएकालाई समेत राज्यको सेवा सुविधा जनताको घरदैलोमा नै दिने उद्देश्यले सञ्चालन गरिएको चारदिने घुम्ती शिबिरमा जनताको उल्लेख्य सहभागिता रहेकोे गाउँपालिकाले जनाएको छ ।
शिविरमा अपाङ्गता परिचयपत्र, जेष्ठ नागरिक परिचयपत्र, सामाजिक सुरक्षा भत्ताको नयाँ दर्ता तथा लगत कट्टालगायतका गाउँपालिकास्तरमा प्रदान गरिने सेवा सम्बन्धित वडा कार्यालय तथा आसपासका क्षेत्रबाट उपलब्ध गरिएको गाउँपालिका अध्यक्ष अशिम राईले बताए । ‘हामीले जनताको सेवा गर्न निर्वाचनमा मत मागेका थियौँ, अहिले जनतालाई कसरी बढी भन्दा बढी सुविधा प्रदान गर्ने भन्ने कुरामा हामी दिनप्रतिदिन लागिरहेका छौँ, उहाँले भन्नुभयो ।
वृद्ध तथा अपाङ्गलाई गाउँपालिकामा पुर्याएर परिचय पत्र बनाउन धेरै कठिन भएको अवस्थामा गाउँमै आएर परिचयपत्र वितरण भएपछि सहज भएको वडा नम्बर ४ का अडा अध्यक्ष नातीकाजी गुरुङले बताए । शिविरबाट वडाबासीले राहत पाएको उहाँको भनाइ छ ।
शिविरका क्रममा अपाङ्गता परिचयपत्र एक सय जनाले लिएका छन् भने ३०४ जनाले जेष्ठ नागरिक परिचयपत्र प्राप्त गरेका छन् । त्यस्तै, सामाजिक सुरक्षा भत्ताको नयाँ दर्ता तथा लगत कट्टा १२५ जना रहेका छन् । पहिलो चरणको शिविर वडा नम्बर ९ लोखिम, वडा नम्बर ४ र ५ जुबु तथा वडा नम्बर ६ मा सञ्चालन गरिएको अध्यक्ष राईले बताए । दोस्रो चरणको शिबिर केही दिनपछि सञ्चालन गर्ने गाउँपालिकाले जनाएको छ ।