गाउँले न्युज, काठमाडौं । नेपाल कम्युनिट पार्टी (नेकपा)ले प्रदेश न ३ को नाम वाग्मती र राजधानी हेटौंडा नै कायम गर्ने निर्णय नेकपाले गरेको छ ।
आईतवार बसेको नेकपाको सचिवालयले प्रदेशको नाम र राजधानी कायम गर्ने गरी प्रदेश कमिटिलाई निर्देशन दिने निर्णय गरेको छ ।
प्रदेशको नाम र राजधानीमा नेकपाकै सांसदहरूबीच कुरा नमिल्दा २ वर्षदेखि निर्णय हुन सकेको छैन ।
प्रदेश ३ को प्रदेशसभामा नेकपाको दुई तिहाइ बहुमत छ । यसअघि प्रदेशको नाम नेपाल मण्डल, नेवा ताम्सालिङ र वाग्मती कुन राख्ने भन्नेमा नेकपामा कुरा मिलेको थिएन ।
राजधानी पनि काभ्रे, भक्तपुर र हेटौंडामध्ये कहाँ राख्ने भन्नेमा नेकपाका प्रदेशसभा सदस्यहरुबीच कुरा मिलेको थिएन । मुख्यमन्त्री डोरमणि पौडेलले नाम र राजधानी टुंग्याउन पार्टीले निर्देशन दिनुपर्ने बताएका थिए ।