गाउँले न्युज, ११ भाद्र, काठमाण्डौ । राजधानीको पर्यटकीय स्थल बौद्धमा ‘चिन्डो हाउस’ खुलेको छ । औपचारिक रुपले हालै खुलेको चिन्डो हाउसमा विभिन्न जातजातिका भेषभूषा र पेन्टीङहरु राखिएका छन् ।
केही वर्षअघि कलाकार अर्जुन खालिङको अगुवाईमा स्थापित चिन्डो अभियानलाई निरन्तरता दिने क्रममा कलाकार राजकुमार राई र कन्चन तामाङले चिन्डो हाउसको स्थापना गरेका बताए ।
चिन्डो हाउसमा विशेष गरेर विभिन्न जातजातिले प्रयोग गर्ने सांस्कृतिक भेषभूषाहरु राखिएका छन् भने सांस्कृतिक पहिचान झल्काउने क्याजुल ड्रेससमेत उपलब्ध छन् । हाउसमा कलाकार अर्जुन खालिङका पेन्टिङहरु, किराती सांस्कृतिक पहिचान झल्काउने विम्ब, अर्जुन खालिङ स्वयंको पोट्रेटजस्ता प्रिन्ट गरिएका टि–सर्टदेखि फेंगा, पांगा, धजुरा, सेम्योरी, फुर्का, बिनायो, मुर्चुङ्गा, खम्बी, चिन्डो–किरिङ, छिटको सारी, मखमल–ढाकाको चोलीलगायत विभिन्न गरगहना र भेषभूषाहरु उपलब्ध छन् ।
त्यसैगरी हाउसमा विभिन्न पेन्टिङहरु पनि उपलब्ध हुनेछन् । आफ्नो जीवनकालमा अर्जुन खालिङले सिर्जना गरेका पेन्टिङहरुको प्रतिलिपिका साथै राजकुमार राई र कन्चन तामाङ स्वयंले सिर्जना गरेका पेन्टिङहरु त्यहाँ उपलब्ध हुनेछन् । आदिवासीहरुको थिममा सिर्जना गर्ने राजकुमार र कन्चनले काठमाडौं युनिभर्सिटीबाट बिएफए (ब्याचलर इन फइन आर्टस) अध्ययन पूरा गरेका छन् भने यसअभि उनीहरुले विभिन्न सामुहिक प्रदर्शनीहरुमा भाग लिएर पेन्टिङका पारखीहरुको प्रशंसा र माया बटुलिसकेका छन् ।
मुन्दुममा भएको मिथकअनुसार चिन्डोलाई जीवनको प्रतिकका रुपमा लिइन्छ । चिन्डो हाल विशेषगरी चाइना र नेपालमा प्रचलित रहेको पाइन्छ । नेपालमा किरातीहरुले पवित्र सांस्कृतिक सामग्रीको रुपमा प्रयोग गर्दै आएका छन् भने चाइनमा चिन्डोलाई ‘शुभ’ वा ‘साइत’को प्रतिकको रुपमा लिइन्छ । त्यसैगरी मानव समाजको विकास क्रममा संसारका सबै मानिसहरुले चिन्डोको प्रयोग गरेको पाइन्छ । नेपालमै पनि सन् १९५० ताका भू–गर्भशास्त्री तथा अनुसन्धाता टोनी हेगनले निर्माण गरेको वृत्तचित्रमा आफ्नो सहयोगीहरुले सुनकोशी तर्नेबेला चिन्डोको प्रयोग गरेको देखाएका छन् ।
यही चिन्डोलाई लिएर अर्जुन खालिङको अगुवाईमा अभियानकै रुपमा चिन्डो बुक्स, चिन्डो फेशन, चिन्डो आर्ट, चिन्डो म्युजिकजस्ता संस्थाहरु स्थापित छन् । यसैसन्दर्भमा चिन्डो हाउस थपिएका हाउसका प्रोपाइटर राजकुमार राईले बताए । यसअघि स्थापना भएका संस्थाहरुजस्तै चिन्डो हाउस अर्को ब्रान्डको रुपमा स्थापना भएको पनि उनले बताए ।