गाउँले न्युज, काठमाण्डौ । हामी सबैलाई थाहा छ, मानिसको शरिरले भिन्न किसिमका रसायनहरुमा भिन्न किसिमले प्रतिक्रिया दिन्छ । कुनै पनि रसायन हाम्रो शरिरमा निश्चित मात्रामा नियमितरुपमा भइरहदा प्रतिक्रिया पनि फरक फरक हुन्छ । जस्तै: कागती पानीले शरिरमा पार्ने फरक ।
हामीले गर्मीमा शरिर शितल गराउँन कागती पानी पिउँने गर्छौँ तर कमै मात्र मानिसले बिहान बिहान खाली पेटमा कागती पानी पिउँछन् । तपाईले कागती पानी हरेक बिहान पिउँदा हुने फाइदा थाहा पाउँनु भयो भने छक्क पर्नुहुनेछ ।
यस्ता छन्, खाली पेटमा कागतीपानी पिउनुको फाइदा
तौल कम गर्न
मोटोपनाबाट ग्रस्त हुनुहुन्छ भने बिहान खाली पेट पानी, कागती र मह सेवन गर्दा पेटमा जमेको बोसो कम हुन थाल्छ । यसले मेटाबोलिजम पनि बढाउँछ ।
मुखको दुर्गन्ध हट्छ
कागतीपानीले मुखको दुर्गन्ध पनि हटाइदिन्छ । शरीरलाई विष रहित बनाउन यसले मद्दत गर्छ ।
जोर्नीको पीडाबाट राहत
जोर्नीको पीडाबाट चिन्तित हुनुहुन्छ भने कागतीपानी पिउन थाल्नुस् ।
भिटामिन सी
शरीरका लागि भिटामिन सी जरूरी तत्त्व हो । यसले रोगहरूसँग लड्न मद्दत गर्छ । बिहानको समयमा यसको सेवनले रोगप्रतिरोधक क्षमता राम्रो हुन्छ । रुघाखोकी जस्ता संक्रमण पनि यसले राख्न दिँदैन ।
पाचन क्रिया राम्रो
बिहान मनतातो पानीमा कागती र मह हालेर पिउनुभयो भने शरीरमा पाचक रस बन्न शुरु हुन्छ । यसले भाृक लाग्न शुरु गर्छ र पाचनक्रियालाई राम्रो राख्न पनि मद्दत गर्छ ।
छालामा निखार
कागतीमा भएको एन्टीअक्सिडेन्ट गुणले छालामा निखार ल्याउँछ । छालाका दागधब्बा सफा हुन्छन् ।
कागतीमा त्यस्तो के हुन्छ र फाइदा गर्छ ?
कागतीलाई क्याल्सियम, म्याग्नेसियम, पोटासियम, साइट्रिक एसिड र फस्फोरसको राम्रो स्रोत मानिएको छ । कागती पानी पिउने गरेमा शरीरमा खतरनाक ब्याक्टेरियाको विकास र वृद्धि रोक्न सहयोग पुग्छ । रुघाखोकीको उपचारमा कागती पानी उपयोगी हुन्छ । मस्तिष्कलाई पोषित गर्न र स्नायुकोषहरू स्वस्थ राख्न कागतीले सहयोग गर्छ । कागतीले घुँडा र जोर्नीहरूको पीडा कम गर्छ किनभने यसले युरिक एसिडलाई विघटित गरिदिन्छ । एन्जाइम प्रदान गरेर कागतीले कलेजोलाई स्वस्थ राख्छ । कागती पानीले कलेजोमा अक्सिजन र क्याल्सियमको मात्रा सन्तुलन गर्छ ।
हरेक दिन कागती पानी पिउने गरेमा मिर्गौलामा पत्थरी बन्न पाउँदैन र बनेको पत्थरीलाई विघटित पारेर बाहिर निकाल्न मद्दत पुग्छ । भिटामिन ‘सी’ अधिक भएकाले कागतीबाट हाम्रो शरीरको प्रतिरक्षा प्रणाली सबल हुन्छ । कागती पानी पिउने गरेमा शरीरमा अम्ल र क्षारबीचको सन्तुलन बनाउन मद्दत पुग्छ । पेक्टिन फाइबर हुने भएकाले आन्द्राको कोलोनलाई स्वस्थ राख्न कागतीले शक्तिशाली एन्टिब्याक्टेरियल गुण देखाउँछ । बिहान खाली पेटमा कागती पानी पिएमा शरीरबाट विषालु पदार्थ निष्काशनमा सहयोग पुग्छ । कागती पानीले पाचनमा सहयोग पुग्छ ।
यदि तपाईको शरीरमा पानीको कमी भएमा यस्ता लक्षण देखिन्छन् , जान्नुहोस् !
हामी पर्याप्त पानी पिइरहेका छैनौं । राम्रैसँग थाहा छ कि हामीले पर्याप्त मात्रामा पानी पिउनुपर्छ, तर पनि अनेक कुरामा अल्झेर हामी पानी पिउनुलाई हाम्रो दैनिकीको प्राथमिकतामा पार्न असफल हुन्छौं । यसको परिणाम हामी आफ्नो शरीरमा विभिन्न परिवर्तन आइरहेको अनुभव गर्न थाल्छौं ।
एउटा वयस्क औसत मानव शरीर ५५ देखि ६० प्रतिशत पानीले बनेको हुन्छ । यसले मानव शरीरमा पानीको कति महत्व छ भन्ने दर्शाउँछ । त्यसैले हाम्रा सवारीसाधनले मोबिल वा तेल सकिएपछि देखाउने लक्षण जस्तै पानीको कमी हुनासाथ हाम्रो शरीरले पनि त्यस्ता लक्षण देखाउन थाल्छ ।
यस्ता लक्षण देखिएपछि हामीले शरीरमा तरल पदार्थ खासगरी पानीको आवश्यक मात्रा पूर्ति गर्न दैनिक पर्याप्त पानी पिउन जरुरी छ । शरीरमा आवश्यक पानीको मात्रा पुगे/नपुगेको कसरी थाहा पाउने ? तलका लक्षण देखिएमा तपाईंको शरीरमा पानीको मात्रा कम भयो भनेर बुझे हुन्छ ।
छाला सुख्खा हुनु, लोसनले पनि काम नगर्न ऋतुअनुसार हाम्रो छालामा परिवर्तन आउनु सामान्य हो । जाडोमा हाम्रो छाला सुख्खा र निर्जीवजस्तै हुन्छ । छाला सुख्खा हुँदा यसमा सिबम (छालामा रहेको ग्रन्थीबाट निस्कने चिल्लो पदार्थ) को कमी हुन्छ र यस्तो अवस्थामा छालाको चिल्लोपना कायम राख्न पर्याप्त मात्रामा मोस्चराइजर लगाउनु पर्छ।
यसबाहेक अरु बेला मोस्चराइर लगाइरहँदा पनि तपाईंको छाला सुख्खा हुन्छ र फुट्छ भने तन्तनी पानी खानु भए हुन्छ । जब पानीको कमी भएपछि छालाले स्वाभाविक चमक/सौन्दर्य गुमाउँछ, त्यसबेला छालालाई सबैभन्दा बढी पानी नै चाहिन्छ ।
मुख सुक्नु र धेरै तिर्खा लाग्नु-कतिपयले ख्याल नगर्ने तर शरीरमा पानी कम भएको अर्को लक्षण हो, मुख तथा जिब्रो सुख्खा हुनु र टाँसिनु । साथै यसको अर्को लक्षण धेरै तिर्खा लाग्नु । दुवै अवस्थामा शरीरमा पानीको कमी पूरा गर्न पानी खाइहाल्नुहोस् (किनभने मुख मरुभूमिजस्तो सुख्खा भयो भने मुख नराम्ररी गन्हाउँछ) ।
यो लक्षण उल्लेख गर्नु किन पनि आवश्यक छ भने मुख सुक्नु र धेरै तिर्खा लाग्नु अर्को कुनै गम्भीर रोगको लक्षण पनि हुनसक्छ । केही दिन पर्याप्त पानी पिउँदा पनि यी लक्षण कायम रहे चिकित्सकसँग परामर्श गर्नु उपयुक्त हुन्छ ।स्वास्थ्य खबरपत्रिकामा खबर छ ।
टाउको दुख्नु-टाउको दुख्नु शरीरमा पानीको मात्रा कम भएको अर्को लक्षण हो। चड्किएर दुखेको टाउको मिनेटैपिच्छ झन् झन् फुट्ला जस्तो गरि बढ्छ भने पानीको कमी भएको बुझ्नु पर्छ । यस्तो बेला एकाग्र हुन नसक्ने र धैर्य गुम्दै जान्छ । पर्याप्त पानी पिए यी समस्या हट्ने मात्र होइन उपचार नै हुन्छ ।
नेस्नल हेडेक फाउन्डेसन (एनएचएफ)का अनुसार टाउको दुखाइ कुनै व्यक्तिको शरीरमा पानीको मात्रा कम भइरहेको सामान्य लक्षण हो । साँच्चै भन्ने हो भने शरीरमा पानीको कमीले माइग्रेन निम्त्याउँछ । एनएचएफको सुझाव छ– टाउको दुखेका बेला पानीमात्र खाने र गुलिया वा नुनिला खानेकुरा नखाने । किनभने यी खानेकुराले पानीको कमी अझ बढाउँछन् ।
सधैं थकित-दैनिक रुपमा नियमित र पर्याप्त सुताइ (निद्रा) सुनिश्चित गर्नुहोस् । सधैं नियमित रुपमा पर्याप्त सुते पनि तपाईं जतिबेला पनि थकित वा अल्छी महसुस गर्नु हुन्छ भने शरीरमा पानीको कमी हुनसक्छ।
थकाइले तपाईंका चेतना र एकाग्रतामा असर पार्न सक्छ । थकाइले शरीर आलस्य र असावधान बनाउने भएकाले दुर्घटनाको जोखिम पनि बढ्छ । तर दिनभर बढी मात्रामा पानी पिएर यस्तो अवस्था सुधार गर्न सकिन्छ।
शरीरको वजन बढ्नु-तपाईं पत्याउनुहोस् नपत्याउनुहोस्, कम्मरको बढ्दो मोटाइले तपाईं पर्याप्त मात्रामा पानी खाइरहनु भएको छैन भन्ने बताउँछ । विभिन्न अध्ययनले दिनमा कम्तीमा पनि ५ सय मिलिलिटर (आधा लिटर) पानी खाँदा पनि यसले पाचन क्रिया ३० प्रतिशत बढाउने देखाएका छन् । र, यसमा कुनै आश्चर्य मान्नु पर्दैन । त्यसैले अधिकांश स्वास्थ्य तथा पोषणविदहरूले शरीरको उपयुक्त वजन बढ्न नदिन वा वजन घटाउन पानीको मात्रा बढाउने सल्लाह दिन्छन् ।
यतिमात्र होइन उनीहरू शरीरमा पानीको अलिकति पनि कमी हुनासाथ मस्तिष्कमा मिश्रित संकेत पुग्ने र हामीले भोक लागेको अनुभव गर्छौं, जबकि हामीलाई खानेकुराको नभएर पानी चाहिएको हुन्छ भन्छन् । तपाईंले भोजन गर्नुअघि एक÷दुई ग्लास पानी खानु भयो भने यसले तपाईंको भोजनको मात्रा घटाउँछ, अर्थात तपाईं धेरै खान सक्नुहुन्न ।
अपचको समस्या-यसो भन्नु अलि बढी नै पनि हुन सक्छ कि तपाईंलाई शौचालयमा पेट खाली गर्न धेरै समय लागिरहेको छ भने शायद तपाईंले पानीको मात्रा बढाउन आवश्यक छ । तपाईंको शरीरलाई पचिसकेको खानेकुरा पेटबाट बाहिर निकाल्न तरल पदार्थको आवश्यकता परेको कब्जियत भएबाट सहजै बुझ्न सकिन्छ । दीर्घ कब्जियत/अपचको कारण नै पानीको कमी हो ।
पाचन क्रिया सहज बनाउन र कब्जियत/अपचको समस्या आउन नदिन पर्याप्त पानी पिउनु नै एकमात्र सजिलो उपाय हो । पानीको मात्रा बढाउनासाथ तपाईं आफैं कब्जियत कम हुँदै गएको अनुभव गर्न सक्नु हुन्छ । कब्जियत कम भएन भने चिकित्सकसँग परामर्श गर्नु उपयुक्त हुन्छ ।
मुत्रनलीको संक्रमण-मुत्रनलीको संक्रमण अत्यधिक कष्टदायक हुन्छ भन्ने एकपल्ट यसको अनुभव गरिसकेका व्यक्तिसँग सोधे प्रष्ट हुन्छ । युटिआई (युरिनरी ट्र्याक्ट इन्फेक्सन) विभिन्न कारणले हुने भए पनि प्रायः हाम्रो शरीरमा सहवास वा यौनांग र मलद्वारको राम्ररी सफाइ नगर्दा ब्याक्टेरिया प्रवेश गरेपछि हुने गर्छ ।
मुत्रनलीमा संक्रमण हुने अर्को मुख्य कारण पानीको कमी हो । पर्याप्त पानी पिउनाले मुत्रथैलीबाट ब्याक्टेरिया पानीले बगाएर बाहिर निकाल्छ र ब्याक्टेरिया मुत्रथैलीमा फैलन पाउँदैन ।
शरीरमा पानीको कमी भएको एउटा लक्षण पिसाबको रंग गाढा हुनु वा पिसाब कम लाग्नु वा पिसाब पोल्नु पनि हो । यस्तो लक्षण देखिनासाथ पानीको मात्रा बढाउनुहोस् र यसपछि पनि यी लक्षण कम नभए चिकित्सकसँग परामर्श लिनु जानु पर्छ ।
झर्किने र झन्किने-तपाईं जतिबेला पनि अप्रसन्न हुन थाल्नुभयो, झर्किन र कसैले केही बोल्नासाथ झनक्क झन्किन थाल्नुभयो भने पनि शरीरमा पानीको कमी भयो भनेर बुझ्नुपर्ने हुन्छ । तपाईंलाई आश्चर्य लाग्ला यस्तो बेला तपाईंलाई अरु केही होइन, एक गिलास पानीको आवश्यकता छ यी समस्याको समाधान गर्न भन्यो भने ।
केही अध्ययनले सामान्य डिहाइड्रेसनले पनि स्नायविक÷मानसिक परिवर्तन हुने र त्यसको प्रभाव हाम्रो मानसिक क्षमता र एकाग्रतामा पर्नुका साथै झर्किने र झनक्क रिसाइहाल्ने जस्ता परिवर्तन हुने देखाएका छन् ।
यसभन्दा पनि उदेकलाग्दो त के छ भने हाम्रो शरीरमा आवश्यक पानीको मात्राभन्दा १ प्रतिशत मात्र पानीको कमी हुँदा समेत यस्ता नकारात्मक प्रभाव पर्छ । त्यसैले फेरि पनि तपाईं धेरै झर्किन र झनक्क रिसाउन थाल्नुभयो अनि त्यसको कुनै कारण पत्ता लगाउन सक्नु भएन भने थपक्क एक-दुई ठूलो गिलास पानी पिइहाल्नुहोस् र आफ्नो मुड ठीक पार्नुहोस् ।
मांसपेशी बाउँडिने-मांसपेशी एकै ठाउँमा डल्लो पर्नु वा खास गरी पिंडुला बाउँडिनु कष्टदायक हुनुका साथै लाजमर्दो हुन्छ । यस्तो बेला अधिकांश व्यक्ति शरीर तन्काउने वा मालिस गर्ने गर्छन् । तर यसको उपचार अत्यन्त सरल छ, पानी पिउनु । किनभने शरीरमा पानीको कमी भएपछि नै मांसपेशी बाउँडिने गर्छ ।
कतिपय यसमा असहमत होलान्, तर विभिन्न अध्ययनले पानीको कमी (डिहाइड्रेसन) र मांसपेशी बाउँडिनुबीच सम्बन्ध देखाएका छन् । किनभने हामीले थोरै पानी खाँदा रक्त सञ्चार नै मन्द हुन्छ। डिहाइड्रेसन भएपछि मस्तिषकले महत्वपूर्ण अंग बचाउन शरीरमा भएको तरल पदार्थ/पानी मांसपेशीबाट त्यता पठाउँछ र मांसपेशी बाउँडिन्छ ।
पानीको कमीले शरीरमा हुनुपर्ने सोडियम र पोटासियमको मात्रा तलमाथि हुन थाले स्थिति अझ बिग्रन्छ । त्यसैले पर्याप्त पानी खान अत्यन्त महत्वपूर्ण छ, खासगरी गर्मीमा र व्यायामका बेला ।
पर्याप्त पानी खाएको कसरी थाहा पाउने दैनिक कति पानी पिउनु पर्छ भन्ने सम्बन्धमा अनेकौं भनाइ छन् । पछिल्लो समय भएका अध्ययनले भने लिंग र शरीरको आकार/वजन अनुसार पिउन आवश्यक पानीको मात्रा बताउने गरेका छन् । उदाहरणका लागि एक जना साढे ६ फिट अग्लो पुरुषले दैनिक ८ ग्लास पानी पिउनु कम हुनसक्छ भने ४ फिट १० इन्च अग्ली महिलाका लागि यति नै पानी पिउनु धेरै हुन सक्छ ।