गाउँले न्युज, २५ असार, सोलुखुम्बु । प्रदेश सरकारवाट सोलुखुम्बु प्रदेश सभा ख क्षेत्रमा २८ करोड बजेट बिनियोजन भएको छ । आर्थिक बर्ष २०७६/७७ का लागि प्रदेश नम्बर १ वाट सोलुखुम्बु ख क्षेत्रको विभिन्न योजनाका लागि २८ करोड ७२ लाख ५० हजार बराबरको बजेट बिनियोजन भएको प्रदेश सांसद बुद्धिकुमार राजभण्डारीले बताए ।
उक्त बाहेक जडिबुटी उत्पादन तथा प्रशोधन केन्द्र र प्राबिधिक बिश्व विद्यालयको आंगिक कलेज स्थापनाका लागि गरी एक करोड ५० लाख रकम बिनियोजन भएको छ । बिनियोजित बजेट मध्ये सोलुदुधकुण्ड नगरपालिका र लिखु पिके गाउँपालिकालाई हाराहारीको बजेट छुट्याइएको छ । लिखुपिके गाउँपालिकाको विभिन्न योजनामा ९ करोड ३३ लाखको बजेट बिनियोजन हुँदा सोलुदुधकुण्ड नगरपालिकाको विभिन्न योजनामा ९ करोड ३० लाख रकम बिनियोजन भएको छ ।
यस्तै माप्य दुधकोशी गाउँपालिकाको विभिन्न योजनामा ४ करोड ३५ लाख ५० हजार रकम र खुम्बु पासाङल्हामु गाउँपालिकाको विभिन्न योजनामा ५ करोड ७४ लाख बजेट बिनियोजन गरिएको प्रदेश सांसद एवं नेकपा प्रदेश नम्बर १ का प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले बताए ।
बिनियोजित बजेटमध्ये लिखुपिके गाउँपालिकाको लिखु नदि करिडोरका लागि २ करोड रुपैयाँ, सोलुदुधकुण्ड नगरपालिका ३ तामाखानी — जसमाने भन्ज्याङ — डबर गुम्बा — गोली — काफ्ले चौर — भण्डार सडकका लागि ५ करोड र खुम्बु पासाङल्हामु गाउँपालिकाको सगरमाथा ट्रेल निर्माण सुधार स्तरोन्नतिमा १ करोड रुपैयाँ रहेको छ ।
माप्य दुधकोशी गाउँपालिकाको दुधकोशी नदि पक्की पुलका लागि २ करोड, सोलुदुधकुण्ड नगरपालिका ५ सल्लेरीदेखि — सेलगुडी — माप्यदुधकोशी ५ महभीर हुँदै ठुल्ढुंगा — अधेरी — खुम्बु पासाङल्हामु गाउँपालिका सडक कालोपत्रे समेतका लागि १ करोड रकम छुट्याइएको छ ।
सोलु दुधकुण्ड नगरपालिका २ फाप्लु हुँदै बेनी थुप्तेनछ्योलिङ गुम्बा जाने सडकका लागि २ करोड, घरेलु तथा साना उद्योग विकास कार्यालय भवन निर्माणका लागि १ करोड ५० लाख, र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर ८ बागखोर केरुङवाट शेर्पाटोल — माटे — सिसाखोला मेराङदिङ — भित्ताखर्क हुँदै सल्लेरी सडकका लागि एक करोड रकम बिनियोजन गरिएको छ ।
सभार शिखरपोश्ट