धर्म परिवर्तनले निम्त्याएको समस्या [भिडियो सहित् ]

धर्म परिवर्तनले निम्त्याएको समस्या [भिडियो सहित् ]

गाउँले न्यूज, 12 बैशाख,– ‘मलाई माफ गर्नुस् आमा मैले गल्ती गरेँ। मैले नगर्ने काम गरेछु। धर्म परिवर्तन गरेर भुल गरेँ, मलाई माफ गर्नुस्।’

आमालाई अँगालो हाल्दै चिच्याउँदै थिए, अभिषेक कार्की। आमाको मनको बाँध पनि भत्कियो। ‘यिनै क्रिस्चियनले गर्दा मेरो सम्पत्ति सकियो। मलाई सुकुम्बासी बनाउने यिनै हुन्,’ उनी पनि रुन थालिन्।

नजिकै रहेकी बुहारी आयुशाले उनलाई सम्हाल्ने कोसिस त गरिन्। तर, सकिनन्। बरु आफै रोइकराइ गर्न थालिन्। ‘मलाई क्युरेट गर्न लगाउने यिनै पापी हुन्,’ उनी भक्कानिँदै भन्न थालिन्, ‘मेरो बच्चा जन्मिँदा मलाई हेला गर्ने यिनीहरु नै हुन्।’

वरिपरिको भिड उनीहरुतिरै केन्द्रित भयो। कसैले कसैसँग बोल्न सकेनन्। बरु धेरैका आँखा रसाए।

घटना बैसाख ९ गते सोमबारको हो। इलाका प्रहरी कार्यलय इटहरी अगाडिको दृश्य। अत्यन्तै दर्दनाक पीडा पोखिएको भान हुने यो दृश्यको कारण रहेछ, इसाइ धर्म परिवर्तन। जसका मुख्य नाइके हुन्, कोरियाली धर्म प्रचारक सङ जा हान।

यसरी सुरु हुन्छ घटना
‘जीवन मुक्ति’को आसमा २०६३ सालदेखि इसाई धर्ममा लागे अभिषेक कार्की। त्यसको केही वर्षमा उनको भेट तिनै सङ जा हानसँग भयो। धर्म प्रचारमा उनी अब्बल देखिन थाले। नभन्दै उनी पाश्चरसम्म भए। त्यति मात्र होइन कोरियाली र नेपाली भाषा अनुवाद गर्ने जिम्मा पनि पाए। चर्चभित्रै उनको विवाह भयो। ‘प्रभु माता’ नै सबैभन्दा ठूलो हो भन्दै जीवन नै प्रभुमा समाहित गरे।

तिनै कोरियालीको लहलहैमा लागेर उनले परिवारसँगको सम्बन्ध बिगारे। परिवारले अंश स्वरुप दिएको एक कठ्ठा जग्गासमेत चर्चमा बुझाए। तिनै कोरियालीले जे भन्यो त्यही मान्दै गए अभिषेक।

विवाहपूर्व नै उनलाई परिवार नियोजन गर्न लगाइयो। जतिबेला उनी भर्खर २० वर्ष लागेका थिए। तर, अस्पतालमा २५ वर्ष भनी ढाँट्न लगाएर परिवार नियोजन गर्न लगाए तिनै कोरियाली सङ जा हानले। विराटनगरको मेरी स्टोप सेन्टरमा परिवार नियोजन गरेको उनी सुनाउँछन्।

भिडियो

उनीसँगै एउटै चर्चमा थिइन्, आयुशा चौधरी। दुवैले विवाह गरे। तर, केही महिनामै गर्भ रह्यो। त्यो कुरा चर्चका पाश्चरकहाँ पुग्यो। उनले गर्भपतन गर्न लगाए। त्यसपछि पुन: गर्भ रह्यो। त्यो पनि गर्भपतन गर्नुपर्छ भन्दै दबाब दिन थाले। आयुशाले पनि पाश्चरले भनेको नमाने ‘नर्क’ पुग्ने डरले गर्भपतन गर्न राजी भएको सुनाइन्।

२०७२ सालको भूकम्पताका लामो समय चर्च बन्द भयो। सोही समयमा उनको पेटमा पुन: रहेको गर्भ हुर्कंदै गयो। ४ महिनाको गर्भ भएकाले अस्पतालले गर्भपतन गराउन मानेन। त्यसपछि झनै दशा थपियो आयुशालाई।

पादरीहरुबाट समेत प्रश्नको तीर उनीतिर सोझिन थाल्यो, ‘श्रीमान्‌ले परिवार नियोजन गरेपछि कसरी बच्चा जन्मियो?’

अन्तत: उनलाई चर्चबाटै निकालियो। अभिषेक र आयुशा दुवै चर्चका कर्मचारीको रुपमा काम गर्थे। दुवैलाई अलग गराएर सम्बन्ध छुटाउने प्रयास पाश्चरले गर्न थाले। तर, सफल भएनन्।

कलिलै उमेरमा परिवार नियोजन गरेकाले असफल भएको अभिषेक बताउँछन्। हाल उनीहरुको ३ वर्षको छोरा छ। ‘छोरा जन्मिएको ३ महिनासम्म आफूलाई चर्चबाहिर आउनसमेत दिइएन,’ अभिषेकले भक्कानिँदै भने, ‘मेरो आमासँग सम्बन्ध बिगार्ने, मलाई परिवार नियोजन गर्न लगाउने त्यो कोरियन नै हो।’

अभिषेकका अनुसार सन् २०१२ पछि विश्व ध्वस्त हुन्छ भन्दै कोरियनले परिवार नियोजन गर्न लगाएका थिए।

अभिषेक मात्र होइन झापा बिर्तामोडका सुनिल श्रेष्ठ पनि आफूलाई सङ जा हानले घरजग्गा बेच्न बाध्य पारेको बताउँछन्। पीडित श्रेष्ठका अनुसार आफूलाई मन नहुँदा नहुँदै तिनै कोरियालीले दबाबमा पारी जग्गा बेच्न लगाए। ‘त्यसको दशांस परमेश्वरको नाममा लगेका हुन्,’ उनले भने।

भिडियो

सङ जा हानबाट पीडित बनेका अर्का पात्र हुन्, सूर्यमान विक। आफूलाई भने अर्का कोरियाली नागरिक मुन्छङजुले जग्गा बेच्न लगाएको उनको भनाइ छ।

तिनै अभिषेक जसले इसाई धर्मका बारेमा प्रश्न गर्दा उनीमाथि धर्म विरोधीको आरोप लगाइएको थियो। धर्मविरोधी र दिमाग बिग्रिएको भन्दै अरोप लगाएर एक्लो बनाउन खोजेको उनको भनाइ छ। प्रश्नको सामना गर्न नसकेपछि भौतिक आक्रमणमा उत्रिएको उनी बताउँछन्।

यिनै धर्मका पादरीहरुले सन् २०१२ पछि विश्व ध्वस्त हुन्छ भने तर किन भएन? भन्ने जस्ता १५ वटा प्रश्न गरेका थिए। जुन प्रश्नको सामना गर्नुको साटो आफूलाई धर्मविरोधी भन्दै आक्रमण सुरु भएको उनको भनाइ छ।

भिडियो

https://gaulenews.com/?p=46305

‘मेरो कारण मलाई समर्थन गर्नेहरुमाथि आक्रमण भएको हो,’ उनले भने, ‘नेपाली नेपाली भिडाएर कोरियनले फाइदा लिन खोजेको मात्र हो।’

आफ्नो प्रश्नमा समर्थन गर्ने केही विश्वासीहरुलाई नै कोरियन नागरिकले आक्रमणको योजना बनाएको उनको भनाइ छ।

बैसाख ७ गते शनिबार सोही चर्चकी विश्वासी प्रमिला राईको समूहले इटहरी-२ की अनु राईमाथि आक्रमण गरेको थियो। तिनै कोरियालीको नेतृत्वमा गएको टोलीले उनलाई आक्रमण गरेको हो।

अनुका श्रीमान् वीरबहादुर राईका अनुसार साँझको समय आफू घर पुग्दा घरभरि मानिस थुप्रिएका थिए। ‘के रैछ भनी सोध्न खोज्दा आफ्नै श्रीमतीमाथि हमला भएको रहेछ,’ उनी भन्छन्, ‘कारण बुझ्दै जाँदा चर्चविरोधी भयो भनेर आक्रमण भएको पाएँ।’

सन् २०१२ मा विश्व प्रलय हुन्छ भन्दै श्रीमतीलाई सन्तान जन्माउन हुन्न भनेर एकोहोरो बनाएको वीरबहादुर सुनाउँछन्। ‘त्यसपछि उनले कहिल्यै सन्तान जन्माउन मानिनन्। धन्न मेरो छोरी जन्मिइसकेको भएर मात्र, नभए म नि:सन्तान बन्नेवाला  थिएँ,’ उनले दुखेसो पोखे, ‘यो धर्मात्माहरुको भन्दा पनि पापात्माहरुको स्थान हरेछ।’

कोरियाली धर्म प्रचारकको कारण इटहरीको धेरै परिवारको बिल्लीबाठ भएको छ। भिजिट भिसामा नेपाल आएका कोरियाली नागरिक सङ जा हानका कारण परिवारभित्रै विग्रह सुरु भएको हो।

अर्का एक युवाले नाम नबताउने सर्तमा  भने, ‘मेरो परिवारमा पनि त्यही चर्चको कारण समस्या आइरहेको छ। आफू बाहिरै बसेर धर्ममा लाग्ने बताए पनि श्रीमतीले सधै चर्चमा नबसे डिभोर्स गर्ने धम्की दिँदै आएकी छन्। अहिले पनि म उनलाई धेरै माया गर्छु तर त्यही कोरियालीले कन्भिन्स गराएको कारण श्रीमती मबाट छुट्न चाहन्छिन्।’

OOO

‘इन्टरनेसनल वी लभ यु’ फाउन्डेसनको नाममा नेपाल छिरेका सङ जा हान इसाई धर्म प्रचारमा सक्रिय छन्।

विभिन्न पूर्वाधार निमार्ण गर्ने उद्देश्यले नेपाल छिरेको उक्त संस्थाको नेपाल प्रमुख हुन् उनी। हाल ‘परमेश्वरको मण्डली विश्व सुसमाचार समाज (सियोन)’ मार्फत धर्म प्रचार गरिरहेका छन्।

भौतिक निर्माणदेखि शान्ति स्थापना गर्ने नाममा सो फाउन्डेसनले काम गरिरहेको छ। तर, फाउन्डेसनको लोगोमा धर्म प्रचार गरेको विषयमा भने सरकारदेखि स्थानीय प्रशासन अनभिज्ञ देखिन्छन्।

तिनै कोरियालीको निर्देशनमा इटहरी-३ कि अनु राईलाई घरमै गएर कुटपिट गरेपछि रहस्य बाहिर आएको हो। गत शनिबार उनै साङ जा हानको नेतृत्वमा गएको टोलीले उनीमाथि जाइलागेको थियो। कुटपिटपछि पीडित पक्षले इलाका प्रहरी कार्यालय  इटहरीका आइतबार नै किटानी जाहेरी दिएका छन्। तर, प्रहरीले उनलाई अझैसम्म पक्राउ गर्न सकेको छैन।

प्रहरी भन्छ- कि मिलेमतो गर्नुस्, नभए अदालत जानुस्
खुलमखुल्ला धर्म प्रचार गर्न नपाउने कानुनी व्यावस्था भए पनि यी कोरियालीले भने धर्म प्रचारको छुट पाएका छन्। भिजिट भिसामा १० वर्षअगाडि नेपाल आएका सङ जा हान लगायत धर्म प्रचारमा लागिरहेका छन्। धर्म प्रचारमा मात्र होइन ‘परमेश्वरको नाममा’ पैसा उठाएर कोरिया भित्र्याउने खेलमा लागेको पीडितहरु बताउँछन्।

उनलाई पक्राउ गर्नुको साटो प्रहरीले छलफलमा बसेका पीडित र पत्रकारलाई नै इलाका प्रहरी कार्यालयबाहिर निकालेको थियो। इन्सपेक्टर धनेन्द्र हाङ खजुमले रुखो स्वरमा ‘किन यहाँ बसेको बाहिर निस्कनुस्’ भन्दै निकालेका थिए। त्यही बेला पीडितहरु भने न्यायको आशामा प्रहरी कार्यलयबाहिर रुवाबासी गरिरहेका थिए। 

Sours :  nepallive.com

https://www.nepallive.com/story/63821?fbclid=IwAR3hQ7l-0RvE3xgsJjsnTgqzYhPnpIsBrcGts1x7ovvX4FLMyFynTEBACus

https://gaulenews.com/?p=46305

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका