गाउँले न्यूज, ७ चैत्र, काठमाडौँ । चैत १० बाट सन्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको सबै तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । यस वर्षदेखि एसईई परीक्षा प्रदेश सरकारको व्यवस्थापनमा हुने भएकोछ ।
केन्द्रबाट प्रश्नपत्र तयार गरी सातै प्रदेशका सबै परीक्षा केन्द्रमा पुर्याइसकेको परिक्षा बोर्डले जनाएको छ । परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का अनुसार यस वर्ष मुलुकभरबाट ४ लाख ७४ हजार परीक्षार्थी एसईई परीक्षामा सहभागी हुँदै छन् । त्यस निम्ति १ हजार ९ सय ६९ परीक्षा केन्द्र तोकिएको छ ।
परीक्षा सञ्चालनका निम्ति प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र शिक्षा विकास तथा समन्वय इकाई (तत्कालीन जिल्ला शिक्षा कार्यालय) ले परीक्षा समन्वय समिति गठन गरी केन्द्राध्यक्ष नियुक्ति गरेका छन् । परीक्षालाई मर्यादित रूपमा सञ्चालन गर्न प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायलगायत सरोकार पक्षसित संयुक्त बैठक बोलाएर तयारी गरिएको छ ।
नेपालमा वि.सं. १९९० देखि कक्षा १० पछिको एसएलसी परीक्षा सञ्चालन हुँदै आएको थियो । सरकारले विद्यालय शिक्षाको तह परिवर्तन गरी कक्षा १२ सम्म विद्यालय तह कायम गरेको छ । त्यसैले कक्षा १० पछिको एसएलसी परीक्षालाई एसईई (सेकेन्डरी एजुकेसन एक्जामिनेसन) नामकरण गरिएको छ ।
कक्षा १२ पछिको परीक्षालाई विद्यालय शिक्षाको अन्तिम परीक्षाका रूपमा कायम गरिएको छ । गत वर्ष एसईईमा ४ लाख ६२ हजार १ सय ३६ परीक्षार्थी सहभागी थिए । दुई वर्षयता ग्रेडिङ प्रणालीअनुसार नतिजा प्रकाशन गरिँदै आएको छ ।
शिक्षा मन्त्रालयले २०७२ सालदेखि एसएलसी परीक्षाको नतिजा अक्षरांक मूल्यांकन पद्घति (लेटर ग्रेडिङ इभ्यालुएसन सिस्टम) लागू गरेको छ । यो नतिजाले विद्यार्थी ‘फेल’ हुँदैनन् । उच्च अंक पाउने विद्यार्थीले ए प्लस, ए, बी प्लस, बी, सी, डी, ई उल्लेख भएको लब्धांकपत्र (मार्कसिट) पाउँछन् । डी र ई ग्रेड पाउनेले माथिल्ला अक्षरांक हासिल गर्न फेरि दोहोर्याएर परीक्षा दिन पाउने व्यवस्था छ ।