गाउँले न्यूज, २४ माघ सोलुखुम्बु । सोलुखुम्बु बहुमुखी क्याम्पस सोलु दुधकुन्ड नगरपालिका ५ सल्लेरिको महत्वकांक्षी योजना मेची—काली विश्व अभियानको उद्घाटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी सोलुखुम्बु आउने भएको छ ।
फागुण ४ देखि शुरु हुने मेची—काली विश्व अभियानको राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने र राष्ट्रपति भण्डारीसहित बिशिष्ट व्यक्तिहरुको उपस्थितिमा अभियान शुरु गर्न लागिएको सोलुखुम्बु बहुमुखी क्याम्पसका प्रमुख उद्धवकुमार शर्माले जानकारी दिए । उद्घाटनका क्रममा चर्चित कलाकार मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यसमेत सोलुखुम्बु आउने बताइएको छ ।
२०५० सालमा स्थापना भएको क्याम्पसले स्थापनाको २५ बर्ष पुगेको उपलक्ष्यमा मेची—काली अभियान शुरु गर्दै नेपालका ७७ वटै जिल्ला र विश्वका विभिन्न २५ देशका नागरिकलाई अभियानमा सहभागी गराइने कार्यक्रम रहेको छ । क्याम्पसले विश्वमा नै यो पहिलो, नौलो र ऐतिहासिक अभियान हुने दाबी गरेको छ । अभियानका क्रममा करिब १ करोड जनासँग पुगी एक एक सय रुपैयाँ क्याम्पस सञ्चालनका लागि सहयोग संकलन गरिनेछ ।
क्याम्पसले ५ बर्ष भित्रमा ५ लाख नागरिक, ५ हजार सरकारी तथा गैर सरकारी संघसंस्था, कार्यालयहरु र कम्तीमा विश्वका २५ देशका नागरिकलाई अभियानमा सहभागी गराई विश्वकै सबैभन्दा बढी जनसहभागितामा सञ्चालित पब्लिक क्याम्पसको रुपमा गिनिज बुकमा नाम दर्ता गराउने योजना राखेको प्रमुख उद्धवकुमार शर्माले जानकारी दिनुभयो । अभियानसँगै क्याम्पसले २५ कोठा भएको सुबिधासम्पन्न कक्षा कोठा र कार्यालय भवन निर्माण गरी विभिन्न बिषयको अध्यापन कार्य अघि बढाउनेछ ।
क्याम्पसले ७७ वटै जिल्लवाट दुई दुई जना गरिब तथा जेहेन्दार विद्यार्थी छनौट गर्ने, विभिन्न २५ देशका २५ जनासहित ५ सयजनालाई खान बस्नसहित निशुल्क उच्च प्राबिधिक शिक्षा प्रदान गर्ने पनि शर्माले जानकारी दिए ।
भिडियोको लागि यहाँ क्लिक गर्नुस्