काठमाडौँ, १४ मंसिर — एसिया प्यासिफिक समिटमा युनिफिकेसन चर्चकी प्रमुख हक जा हनले प्रधानमन्त्री केपी ओली र उनकी पत्नी राधिका शाक्यसहित १५ सय उच्च पदस्थ नेपाली दम्पतीलाई आशीर्वाद दिने तयारी छ ।
प्राप्त सूचीमा समिटको दोस्रो दिन आइतबार ‘प्रधानमन्त्री, मन्त्री, मेयर, नेता र शिक्षकका दम्पतीलगायतलाई चर्चकी गुरुआमाले आशीर्वाद दिने’ उल्लेख छ । त्यसपछि उनीहरू ‘मुन परिवारको अंग बन्ने सम्भावना रहने’ आयोजकको दाबी छ ।
‘यो आशीर्वाद समारोह युनिफिकेसन चर्च र यसका सदस्य तथा यसको बजारीकरणका लागि धेरै महत्त्वपूर्ण छ,’ कार्यक्रमको महत्त्व दर्शाउन सूचीको तल लेखिएको छ । दोस्रो दिनको पहिलो र दोस्रो सत्रमा जलवायु परिवर्तनको सम्बोधन र त्यसमा सञ्चारमाध्यमको भूमिकाबारे संगोष्ठी गरेपछि समापन सत्रमा दम्पतीहरूलाई आशीर्वाद दिन लागिएको हो ।
आयोजक युनिभर्सल पिस फेडरेसन (यूपीएफ) नेपाल शाखाका अध्यक्ष एकनाथ ढकालका अनुसार दोस्रो सत्रमा देशैभरका मेयर र उपमेयरलाई निम्ता दिइएको छ । भित्रको हलमा सबै नअट्ने भएपछि बाहिरको खाली ठाउँमा ३४ सय सिट क्षमताको अस्थायी हल बनाइएको उनले बताए ।
‘आजको विश्वमा पश्चिमा हावा लागेर परिवार विखण्डन भइरहेको छ,’ यूपीएफ नेपालका महासचिव विनोद डाँगीले भने, ‘त्यसलाई नेपालमा आउन नदिन र परिवारलाई जोगाइराख्न उहाँबाट आशीर्वाद दिन लागिएको हो ।’
आशीर्वाद लिने ४ हजारमध्ये नेपालका उच्च पदस्थ १५ सय जोडी हुनेछन् । यसरी धार्मिक रीतले आशीर्वाद दिनुअघि प्रधानमन्त्री ओलीलाई चर्चकी गुरुआमाले ‘नेतृत्व तथा सुशासन पुरस्कार’ प्रदान गर्नेछिन् । कार्यक्रमको एक सय एक सदस्यीय आमन्त्रण समितिका अध्यक्ष माधवकुमार नेपालले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे केही पनि भनिएको थिएन ।
चर्चकी गुरुआमा यूपीएफका संस्थापक धार्मिक गुरु सन म्युङ मुनकी पत्नी हुन् । मुनले सन् २०५४ मा दक्षिण कोरियामा यूपीएफ स्थापना गरेका थिए, जसले सामूहिक रूपमा विश्वभर दम्पतीहरूलाई आशीर्वाद दिँदै आएको छ ।
उनले आफूलाई ईश्वरकै अवतार घोषणा गरेकी छन् । एजेन्सीहरूका अनुसार यूपीएफको मुख्य आकर्षण विवाहित समूहमा विवाह रच्नु र विवाह गरिसकेका जोडीलाई ‘पवित्र जल’ छर्की आशीर्वाद दिएर तिनलाई ‘सबै पापबाट मुक्त गर्न‘’ हो । सीएनएनका अनुसार यसरी पापमुक्त भएका जोडीबाट जन्मेका र जन्मिनेवाला सन्तान पृथ्वीमा शान्तिका अग्रदूत हुने विश्वास चर्चका सदस्यहरूको छ ।
यूपीएफले बर्सेनि विभिन्न देशमा गर्दै आउने सम्मेलनमा त्यस देशका उच्च पदस्थको जोडीलाई यसैगरी आशीर्वचन दिने गरेको नेपाल शाखाका महासचिव विनोद डाँगीले बताए । यस्तो समारोहअघि यूपीएफले त्यस देशको सरकार वा राष्ट्र प्रमुखलाई सुशासन पुरस्कार दिने गर्छ ।
साभार: र्इकान्तिपुर