अस्थायी शिक्षकको परीक्षा मिती तोकियो

अस्थायी शिक्षकको परीक्षा मिती तोकियो

काठमाडौँ — शिक्षक सेवा आयोगले खुला प्रतिस्पर्धाभन्दा पहिला अस्थायी शिक्षकबीच आन्तरिक प्रतिस्पर्धाका लागि परीक्षा लिने भएको छ । ४ पटकसम्म स्थगित अस्थायी शिक्षकको परीक्षा असार २९ र ३० गते लिइने आयोगले जनाएको छ ।

आयोगले यसअघि नै खुलातर्फ विज्ञापन खुलाएर परीक्षा मिति असोज ११, १२ र १३ तोकिसकेको छ ।

आयोगका प्रवक्ता दामोदर आचार्यका अनुसार असार २९ गते माध्यमिक, निम्नमाध्यमिक र असार ३० गते प्राथमिक तहको परीक्षा हुनेछ । यसअघि अस्थायी शिक्षक र विद्यार्थी संगठनको आन्दोलनका कारण गत चैत २३ का लागि तोकिएको परीक्षा स्थगित गरिएको थियो । खुला र आन्तरिक प्रतिस्पर्धा सँगसँगै गर्ने भनेर सूचना प्रकाशित गरिएकामा निर्धारित परीक्षा रोकिएको थियो ।
खुला र आन्तरिक सँगसँगै परीक्षा लिने भन्दै यसअघि स्थगित अस्थायी शिक्षकको आन्तरिक प्रतिस्पर्धाका लागि असार २९ र ३० मा परीक्षा हुने भएको छ
आयोगले असारमा अस्थायी शिक्षकको परीक्षा सकेर असोजमा खुलातर्फको परीक्षा लिन लागिएको जनाएको छ । ‘परीक्षा तयारी पहिले नै धेरै पूरा भइसकेको थियो,’ आचार्यले भने, ‘पहिले आन्तरिक प्रतिस्पर्धाको परीक्षा गरेर खुला प्रतिस्पर्धा गर्ने निर्णय भएको हो ।’ आन्तरिक प्रतिस्पर्धाका लागि यसअघि तीनवटै तहका २२ हजार ७६ पदमा विज्ञापन गरिएको थियो । ती पदका लागि २३ हजार ३ सय अस्थायी शिक्षकले आवेदन दिएका छन् । २०७२ अघिसम्म अस्थायी सेवामा प्रवेश गरेका शिक्षकको दरखास्त लिइएको हो । पहिल्यै तोकिएका केन्द्रहरूमा परीक्षा सञ्चालन हुने आयोगले जनाएको छ । प्रावि, निमावि र मावि तहमा ३/३ प्रकारका गरी ९ वटा विज्ञापन भएको थियो । फरक/फरक प्रकृतिका विज्ञापन भएकाले कुनैमा कडा र कुनैमा सामान्य प्रतिस्पर्धा हुने आयोगका अधिकारीले जनाए ।

आन्तरिक प्रतिस्पर्धामा फेल हुने शिक्षकलाई आकर्षक सुविधा (गोल्डन ह्यान्डसेक) दिएर बिदाइ गर्ने सरकारको तयारी छ । अस्थायी शिक्षकहरू सामान्य प्रक्रिया पूरा गरेर सबै स्थायी हुनुपर्ने माग राखेर अनशन बसेका थिए । शिक्षा संकायमा अध्ययनरत विद्यार्थी भने खुला प्रतिस्पर्धाबाट मात्रै शिक्षक नियुक्त गरिनुपर्ने अनशन बसेका थिए । दोहोरो अनशनपछि परीक्षा स्थगित भएको थियो । आयोगले खुलातर्फ १२ हजार ७ सय ३९ पदमा विज्ञापन गरिसकेको छ ।

खुलातर्फ मावि, निमावि र प्रावि तहको परीक्षा क्रमश: आगामी असोज ११, १२ र १३ गते तोकिएको छ । प्रावि तहका लागि असार ३० र निमावि, माविको असार ३१ सम्म दरखास्त दिन सक्ने म्याद छ । दुवै पक्षका माग सम्बोधन गर्ने किसिमले परीक्षा गर्न लागिएकाले सहज तरिकाले सम्पन्न हुने आयोगका प्रशासकीय प्रमुख डा. तुलसीप्रसाद थपलियाले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका