स्ववियूको नेतृत्वमा यस कारण पुग्दैनन् थारु विद्यार्थी

स्ववियूको नेतृत्वमा यस कारण पुग्दैनन् थारु विद्यार्थी

कारी महतो,
चितवन, फागुन ६–

आठ वर्षपछि यही फागुन १८ गते स्ववियूको निर्वाचन हुँदैछ । चितवन पनि यसको चहलपहल निकै बढेको छ । चितवनको १४ वटा क्याम्पसहरुमा स्ववियूको निर्वाचन हुने भएको छ ।
हालसम्म चितवनको कुनै पनि क्याम्पसमा कहिल्यै पनि थारु विद्यार्थीहरु सभापतिमा पुग्न सफल भएको रेकर्ड छैन । यसरी स्ववियूको नेतृत्वमा थारु विद्यार्थीहरु पुग्न नसक्नुको मुख्य कारण उनीहरुले टिकट नपाउनु नै हो । दल निकट विद्यार्थी संगठनबाट स्ववियूको निर्वाचनमा उम्मेदवारी दिनका लागि दलले नै निर्धारण गर्ने भएकोले थारु विद्यार्थीहरुको पक्षमा बोलीदिने पँहुचवालाहरु जिल्ला पार्टीमा नभएरै थारु विद्यार्थीहरुले टिकट पाउँदैनन् ।
थारु विद्यार्र्थी समाज (थाविस) चितवनको अध्यक्षमा निर्वाचित हुनु भन्दा अगाडि प्रेम महतो विद्यार्थी राजनीतिमा निकै सक्रिय थिए । तर २०६५ सालमा सप्तगण्डकी क्याम्पसको स्ववियू निर्वाचनमा उनले सभापतिको टिकट पाएन । उनी अनेरास्ववियू (क्रान्तिकारी) को तर्फबाट सहसचिव पदमा विजयी भएका थिए ।
२०५६ सालमा शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू चुनावमा थारु विद्यार्थीहरुले आफ्ना समुदायका दुई जनालाई पदाधिकारीसहित चार जनालाई टिकट दिनुपर्ने माग राखेका थिए । तर नेविसंघले थारु विद्यार्थीहरुलाई बेवास्ता गर्दै एकजनालाई मात्र सदस्य पदमा टिकट दिएका थिए । त्यसबखत निर्णायक मत रहेका थारु विद्यार्थीहरुले आफ्ना स्वविवेक प्रयोग गरी नेविसंघबाट सभापतिमतमा उमेदवारी दिएका सविन बराललाई भोट नदिई प्रतिद्वन्दी अनेरास्ववियूबाट उमेदवारी दिएका केशव आचार्यलाई भोट दिए । फलस्वरुप सबिन पराजित भए भने केशवले सभापति पदमा विजयी हासिल गरे । त्यसअघि शहिद स्मृति बहुमुखी क्याम्पसमा अनेरास्ववियूले कुनै पनि पदमा जितेका थिएन तर थारु विद्यार्थीहरु रुष्ट हुँदा त्यस क्याम्पसको स्ववियू नेतृत्वको इतिहास नै बदलिएको थियो ।
थारु विद्यार्थीहरुको बाहुल्य भएको क्याम्पसहरुमा पनि थारु विद्यार्थीहरुले स्ववियू नेतृत्वका लागि टिकट नपाउनु निकै दुखलाग्दो कुरा भन्दै थारु विद्यार्थी समाजका निवर्तमान वरिष्ठ उपाध्यक्ष शिवनारायण चौधरीले यसका लागि थारु विद्यार्थीहरु एकजुट भई संघर्ष गर्नुपर्ने बताएका छन् ।
स्ववियू चुनाव हुने क्याम्पसहरु मध्ये केहि क्याम्पसहरुमा थारु विद्यार्थीको अझै बाहुल्यता छ, नेतृत्वका लागि तम्तयार थारु विद्यार्थी पनि छ तर उम्मेदवारीका लागि टिकट भने छैन । भुवानीशंकर बहुमुखी क्याम्पसका एक थारु विद्यार्थी विक्रम पंजियार महतो भन्छन्, “मैले क्याम्पसमा नेविसंघको क्याम्पस इकाई अध्यक्ष र थारु विद्यार्थी समाजको इकाइ अध्यक्ष भएर आफ्नो कार्यदक्षता र कार्यक्षमता देखाईसकेको छु । त्यसैले स्ववियू आउनै लागेको निर्वाचनमा नेविसंघको तर्फबाट सभापतिमा उम्मेदवारी दिनका लागि दाबेदार छु तर मैले टिकट पाउँछु कि पाउँदिन मलाई नै थाहा छैन ।”
भुवानी शंकर बहुमुखी क्याम्पसमा एक हजार ९० जना विद्यार्थीहरु मध्ये ३८३ जना (३५ प्रतिशत) थारु विद्यार्थी छन् । त्यस्तै जिल्लाका अन्य क्याम्पसहरुमा पनि थारु विद्यार्थीहरु उल्लेख्य संख्यामा नै छन् ।
चितवन जिल्लाको १४ वटा क्याम्पसमा स्ववियू निर्वाचन हुन गैरहेको छ । विद्यमान संविधान र ऐन नियम अनुसार हरेक क्याम्पसमा समावेशी तरिकाले दल निकट विद्यार्थी संगठन र माउपार्टीहरुबाट टिकट वितरण हुन्छ भन्नेमा कुनै शंका नहोला । तर ती १४ वटा क्याम्पस मध्ये कतिवटा क्याम्पसमा थारु विद्यार्थीहरुले नेतृत्व पाउने भन्ने सवालमा जवाफ पाउनै मुश्किल पर्ने देखिन्छ । थारु विद्यार्थीहरुमा नेतृत्व क्षमताको अभाव छैन । तर पँहुचको भने कमी छ । कसलाई टिकट दिने र कसलाई नदिने भन्ने कुरा जिल्ला पार्टीले नै निर्णय गर्ने परिपाटी छ । जिल्ला पार्टीले थारु विद्यार्थीहरुमा भएको नेतृत्व क्षमता देख्न सक्छ कि सक्दैन ? अब त्यो हेर्नका लागि धेरै दिन कुर्न पर्दैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका