एजेन्सी,फागुन ६-
सात मुश्लिम देशमाथि लगाइएको आप्रवासी प्रतिबन्धको आदेश दिएर लगातार आलोचनाको घेरामा परिरहेका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प अब यो निर्णयबाट पछि हटिरहेको देख्न सकिन्छ । डोनल्ड ट्रम्पको प्रशासनले अदालतमा आफ्नो जवाफ दिँदै आप्रवासी प्रतिबन्ध चाँडै नै फिर्ता लिइने भएकाले यस विषयमा कुनै पनि समिक्षा प्यानलको आवश्यकता नभएको बताएको छ ।
ह्वाइट हाउसले यस विषयमा नयाँ आदेश अर्को हप्ता जारी गर्ने बताएको छ । डोनल्ड ट्रम्पले गत जनवरी २७ तारिखमा ७ मुश्लिम देशका मानिसहरुमाथि आप्रवासी प्रतिबन्ध लगाएको थियो जसपश्चात् अमेरिकाको थुप्रै राज्यमा यो निर्णयको विरोध गरियो ।
मिडिया रिपोर्टका अनुसार अदालतमा डोनल्ड ट्रम्पको उद्देश्य सुरक्षा हो, कुनै निर्णयको विषयमा लामो प्रक्रियामा फस्नु होइन भनी ह्वाइट हाउसले दाबी गरेको छ । स्मरण रहोस्, पछिल्लो हप्ता तीन न्यायाधिसको एक बेन्चले तल्लो अदालतको निर्णय खारेज गर्न अस्विकार गरेको थियो ।