चितवन , फागुन ६ –
जिल्ला प्रशासन कार्यालयले जारी गरेको सुशासन मार्ग चित्र अन्तर्गत जिल्ला ट्राफिक कार्यालय चितवनले कामको सुरुवात गरेको छ । त्यस अन्तर्गत कार्यालयले बिहीबार विभिन्न ५०० सवारी साधनहरुमा ‘म मादक पदार्थ सेवन गरी सवारी चलाउँदिन’ भनी लेखिएको स्टिकर टाँस गरेको हो । करिब १० हजार स्टिकर एटुजेड मोबाइल हाउस नारायणगढले कार्यालयलाई सहयोग गरेको हो ।
सुशासन कार्यक्रम अन्तर्गत कार्यालयले चितवन जिल्लाका सवै कार्यालयहरुले सेवाग्राहीहरुका लागि निर्माण गरिएको प्रतिक्षालयमा ट्राफिक सचेतना सम्वन्धी स्लोगानहरु समेत राख्ने भएको छ ।
विभिन्न कार्यालयहरुमा स्थान पहिचान गरी कर्मचारी तथा सेवाग्राहीहरुका सवारी पार्किङ्ग र नो पार्किङ्ग एरिया छुट्याई ट्राफिक चिन्ह राख्ने व्यवस्था गर्ने भएको छ ।
त्यस्तै दुर्घटना न्यूनीकरण गर्न सुरक्षा निकायहरुले समन्वयात्मक रुपमा रणनिति सहितको कार्ययोजना निर्माण गरी कार्यान्वयन गर्ने निर्णय गरेको छ । ट्राफिक व्यवस्थापनका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालयले सडक दुर्घटना न्यूनीकरण तथा सहज यातायात लगायतको विषय कार्ययोजना निर्माण गरी कार्यान्वयनमा ल्याउने जिल्ला ट्राफिक कार्यालय चितवनले जनाएको छ । – चितवनपोष्ट