चितवन, फागुन ५–
नारायणगढ समाजसेवी राजन कार्की र निरु कार्की दम्पतीले खानेपानी व्यवस्थापनका लागि नारायणी नगरपालिका–१० स्थित राष्ट्रिय प्राथमिक विद्यालय ध्रुवनगरलाई आर्थिक सहयोग गरेका छन् ।
विद्यालयको आज भएको ४५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रमका विशिष्ट अतिथि कार्की दम्पतीले विद्यालयमा खानेपानीको समस्या देखेपछि त्यसको व्यवस्थापनका लागि २५ हजार एक सय ५१ रुपैयाँ सहयोग प्रदान गरेका हुन् ।
यस्तै सोही कार्यक्रममा अक्षयकोष स्थापनार्थ विद्यालयलाई विभिन्न व्यक्तिहरुबाट करिव २ लाख रुपैयाँ सहयोग प्राप्त भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम गोदारले जानकारी दिनुभयो ।
गाउँ क्षेत्रमा रहेको सो विद्यालयमा खानेपानीकै समस्या देखिएपछि थोरै भएपनि विद्यालयलाई आर्थिक सहयोग गरिएको समाजसेवी राजन कार्कीले बताउनुभयो । समाजसेवी कार्कीले विभिन्न समयमा सहयोगहरु गर्दै आउनुभएको छ । उद्योग वाणिज्य संघ नारायणीका अध्यक्ष विजय घलेको प्रमुख आतिथ्यता एवंम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम गोदारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उद्योग वाणिज्य संघ नारायणीका सचिव नरहरी घिमिरेलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा शैक्षिक कार्यक्रमका विजेताहरुलाई पुरस्कार समेत प्रदान गरिएको थियो ।