सन्तकुमार चौधरी
चितवन, फागुन ४ –
स्थानीय निकाय अन्तर्गतको ट्रेड यूनियनले जारी राखेको देशव्यापी आन्दोलन प्रति चितवनका राजनीतिक दलहरुले पनि ऐक्यवद्धता जनाएका छन् । आन्दोलनरत्त ट्रेड यूनियन सम्बद्ध विभिन्न संगठनका पद्धाधिकारीहरु सँग चितवनको भरतपुरमा बुधवार बसेको बैठकलाई संवोधन गर्दै चितवनका राजनीतिक दलहरुले आन्दोलन प्रति समर्थन जनाएका हुन ।
उनीहरुले आन्दोलनको स्वरुप परिवर्तन गरेर अगाडी बढ्न समेत आन्दोलनरत्त पक्षलाई सुझाव दिएका छन् । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टको विशेष उपस्थ्तिीमा बसेको बैठकमा नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले आन्दोलनको स्वरुप परिवर्तन गरेर अगाडी बढ्न आन्दोरत्त पक्षलाई सुझाव दिनुभयो । देशव्यापी आन्दोलन जारी रहेका बेला चितवनको आन्दोलनलाई नमुनाको रुपमा प्रस्तुत गर्न सकिने सम्भावनाको खोजी गर्न समेत उहाँले आग्रह गर्नुभयो । कार्यक्रममा बोल्दै नेकपा एमाले चितवनका सचिव तेजेन्द्र खड्काले आन्दोनरत्त पक्षको मागलाई संवोधन गराउन चितवनबाट संयुक्त रुपमा दवाव दिन आफ्नो पार्टी तयार रहेको प्रतिवद्धता जनाउनुभयो ।
स्थानीय निकाय अन्तर्गतको ट्रेड युनियनले जारी राखेको आन्दोलनको कारण चितवनमा पनि महत्वपूर्ण कामहरु प्रभावित भएको भन्दै उहाँले आन्दोलनको स्वरुप परिवर्तन गरेर अगाडी बढ्न सुझाव दिनुभयो । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी चितवनका अध्यक्ष वद्री तिमिल्सीनाले ट्रेड यूनियनले जारी राखेको आन्दोलनलाई संवोधन गराउन जिल्ला स्तरवाट राजनीतिक दलहरुले दिनुपर्ने दवावमा कुनै कमि नहुने बताउनुभयो । उहाँले यूनियनको आन्दोलनले जनताले पाउनुपर्ने महत्पूर्ण सेवालाई समेत ख्याल गरेर आफ्नो आन्दोलनलाई केही लचक बनाउन सुझाव दिनुभयो । लट्ठी पनि नभाचिने सर्प पनि मर्ने गरी अगाडी बढ्न उहाँले आग्रह गर्नुभयो । नेकपा माओवादी केन्द्रका इश्वरी भट्टराई, नयाँ शक्तिपाटी नेपालका सह इन्चार्ज पदम गुरुङ, सहायक प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट लगायतले ट्रेड यूनियनको आन्दोलन र जनताले पाउन थालेको सास्तीको विषयमा बोलेका थिए ।
बैठक अघि आन्दोलनरत्त स्थानीय निकाय ट्रेड यूनियन संयुक्त समन्वय समितिले पत्रकार सम्मेलनकै आयोजना गरेर आफुहरुको माग तत्काल संवोधन गर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ । लामो समय देखि आन्दोलन जारी रहेपनि ट्रेड यूनियनको आन्दोलनलाई सम्बन्धित पक्षले वेवास्ता गर्ने गरेको आरोप लगाएका थिए । आन्दोलनरत्त समिति चितवनका प्रवक्ता विशुराम कुँवरले आफुहरुको जायज मागलाई तत्काल संवोधन गर्नुपर्ने बताउनुभयो । उहाँले आफुहरुलाई निजामति विरोधी भनेर भन्ने गरेको भन्दै आपत्ती जनाउनुभयो । पत्रकार सम्मेलनमा बोल्दै आन्दोनरत्त समिति चितवनका कमाण्डर मधुराम दवाडीले आफुहरुको माग पूरा नभए सम्म आन्दोलन जारी राख्ने बताउनुभयो ।
माघ १९ गतेदेखि देश व्यापी रुपमा स्थानीय निकाय ट्रेड यूनियन सम्बद्ध कर्मचारी संगठनहरु आन्दोलनमा छन् । यिनीहरु विभिन्न ६ सुत्रीय माग राख्दै आन्दोलनमा उत्रीएका हुन् । स्थानीय तहको निर्वाचन घोषणा गर्नदेखि जारी नयाँ संविधानमा उल्लेख भए बमोजिमको प्रभावकारी सेवा प्रवाह गर्न सक्ने सांगठनिक संरचना र जनशक्ति व्यवस्थापन गर्न माग गरेका छन् । स्थानीय निकायमा बीसौं बर्षदेखि अस्थायी तथा करारमा रही कामगरेका ६ हजार कर्मचारीलाई निरन्तरता दिँदै अब बन्ने ऐन नियम कार्यबिधी, गठन आदेशहरुबाटै स्थायीत्व र व्यवस्थापनको संवोधन गर्नुपर्ने लगायतका मागहरु छन् ।