काठमाडौं ,फागुन ३ –
अपहरण तथा शरीर बन्धक मुद्दामा सात वर्षदेखि फरार एक जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरोको प्रहरी टोलीले नुवाकोट फिकुरीका २९ वर्षीय अशोक ढुंगेललाई बालाजुको मनमैजुबाट पक्राउ गरेको हो। पक्राउ परेका ढुंगेललाई कैद भुक्तानका लागि केन्द्रीय कारागार, सुन्धारा पठाइएको जनाइएको छ। गत २०६६ चैत्र ५ गते ढुंगेल र उनका साथीहरु अमर लामा र सुन्दर श्रेष्ठले नविनकुमार नेपाललाई फोनबाट रकम माग गरेको नदिएमा गोली हानी मार्ने धम्की दिएका थिए। धम्कीपछि पैसा नदिदा उनीहरुले नेपालले काभ्रेस्थलीमा ३६ रोपनी जग्गामा प्लटिंगको लागि प्रयोग गर्दै आएको डोजरका चालक लोकनाथ ढुंगानालाई पेस्तोल देखाई कुटपिट गरी डोजरको साँचो समेत खोसेर लगेका थिए। त्यसपछि फेरी उनीहरुले डोजरमा आगो लगाइदिने भन्दै धम्की दिई फिरौती रकमको पहिलो किस्ता भन्दै एक लाख रुपैयाँ लगेका थिए। तर प्रहरीले अमर लामालाई एक लाख रुपैयाँ, डोजरको साँचोसहित पक्राउ गरेको भएपनि ढुंगेल भने फरार रहँदै आएका थिए। ‘अमर लामालाई त्यही बेला पक्राउ गरेको भएपनि ढुंगेल फरार थिए’, ब्युरोका प्रहरी उपरीक्षक मिरा चौधरीले भनिन्– ‘अहिलेसम्म कैद बेरुजु भएकोले पक्राउ गरेर कारागार पठाइएको छ।’ ढुंगेललाई पुनरावेदन अदालतले २०६९ माघ २ गते छ वर्ष कैद सजाय फैसला सुनाएको भएपनि फरार रहेकोले कैद वेरुजु रहेको थियो।