चितवन, फागुन २–
भरतपुरमा जारी राष्ट्रव्यापी एक्सपर्ट स्कूल क्रिकेट लिग अन्तरगत आज भएको खेलमा भरतपुरको नारायणी मा.वि र एडभेन्चर इंग्लिस स्कूल विजयी भएका छन । आजको पहिलो खेलमा नारायणीले भरतपुरको वाल्मीकि शिक्षा सदनलाई ४ विकेटले हराएको छ ।
समूहको पहिलो खेल जितेको वाल्मीकि दोश्रो खेलमा भने पराजित भएको हो । त्यस्तै अर्को खेलमा भरतपुरको एडभेन्चरले डन एकेडेमीलाई ४३ रनले हराएको छ ।
विशाल चोकस्थित नौ बिगाहा मैदानमा टस जितेर ब्याटिङ रोजेको वाल्मीकि शिक्षा सदनले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७ रन बनाएको थियो । वाल्मीकिका लागि समिर थापाले २१ र मनिष थापाले १८ रनको योगदान दिए । बलिङतर्फ नारायाणीका सुजन लामिटानेले ३ तथा कमल भुषाल र बाबुराम भट्टराईले समान २ विकेट लिए ।
१ सय ८ रनको लक्ष्य पछ्याएको नारायणीले १७ दशमलव २ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । टोलीलाई जिताउन सन्देश सापकोटाले २८ र उत्सव श्रेष्ठले २३ रन बनाएका थिए । बलिङतर्फ वाल्मीकिका समिर अधिकारीले २ विकेट हात पारे ।
नारायणीलाइ जिताउन महत्वपुर्ण भूमिका खेलेका सन्देश सापकोटा खेलको प्लेयर अफ द अफ द म्याच घोषित भए ।
त्यस्तै विनोद गुरुङको अर्धशतकीय पारीको मद्दतमा एडभेन्चरले लिगमा दोश्रो जित दर्ता गर्यो । ६० बल खेलेका उनले ५ चौका प्रहार गर्दै अविजित ५० रन बनाएका थिए । टस जितेर पहिले ब्याटिङ रोजेको एडभेन्चरले निर्धारित २० ओभरमा ३ विकेट गुमाउदै १ सय ३२ रनको योगफल प्रस्तुत गर्यो । बलिङतर्फ डनका सयुज विष्टले ३ विकेट लिए ।
१ सय ३३ रनको लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ गरेको डनले १५ दशमलव ५ ओभरमा सबै विकेट गुमाउदै ९० रनमात्र बनाउन सक्यो । टोलीका लागि सोनम सापकोटाले २८ र शिलसन सापकोटाले १६ रनको योगदान गरे । अन्य खेलाडीले दोहोरो आकाडामा रन बनाउन सकेनन् ।
अर्धशतकीय पारी खेलेका विनोद गुरुङ खेलको प्लेयर अफ द म्याच घोषित भए । खेल हेर्न आएका दर्शकमध्येबाट राजु जिसी लक्की ड्रमार्फत एक्सपर्ट फ्यान अफ द डे चुनिए । उनलाई मुख्य प्रायोजक एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेसले रु २ हजार प्रदान गर्योे । हिमालयन क्रिकेट एकेडेमी, काठमान्डौको आयोजना र एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेसको मुख्य प्रायोजनमा भएको प्रतियोगिता फागुन ७ गतेसम्म चल्नेछ ।