१. चुनावमा जाँदा पनि अप्ठ्यारो
प्रधानमन्त्रीका अगाडि चुनावमा जाँदा र नजाँदा पनि अप्ठ्यारा देखिएका छन् । चुनाव नहुँदा राजनीतिक हिसाबले संविधान कार्यान्वयन नहुने अवस्था छ । त्यसो हुँदा संवैधानिक रूपमा पश्चगमनतर्फ पार्टी रहने र संवैधानिक संकट आउने अप्ठ्यारो प्रधानमन्त्रीसँग छ । चुनावमा जाँदा पार्टीको आन्तरिक संगठन कमजोर बन्न सक्ने सम्भावित भय पनि छ । माओवादीका एक उच्च नेताको भनाइमा, चुनाव नगराउँदा राजनीतिक र गराउँदा पार्टीको आन्तरिक सांगठनिक अप्ठ्यारोको जन्जालमा पर्ने भय यतिवेला प्रधानमन्त्रीमा छ । नयाँ पत्रिका दैनिकमा समाचार छ।
२. एमाले र मोर्चाको सकस
‘संविधान संशोधनपछि मात्र चुनाव र चुनावपछि मात्र संशोधन’ भन्ने दुई विपरीत राजनीतिक धार अहिले देखिएका छन् । संशोधनको धार मधेसी मोर्चा र निर्वाचनको धारको नेतृत्व एमालेले गरिरहेको छ । सतहमा जे देखिए पनि यी दुवै धार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा चुनाव हुन नदिने रणनीतिमा रहेको बुझाइ माओवादी केन्द्रका नेताहरूको छ । यी दुवै राजनीतिक धारको चक्रव्यूहमा अहिले प्रधानमन्त्री छन् । जुन प्रधानमन्त्रीका लागि सकस बनिरहेको छ ।
३. आफैँले निम्ताएका अप्ठ्यारा
सरकार गठनका वेला प्रधानमन्त्री प्रचण्डले औपचारिक–अनौपचारिक रूपमा सत्ता गठबन्धन दलसँग केही सहमति, सम्झौता गरेका छन् । स्थानीय चुनाव आफ्नो नेतृत्वमा र प्रदेश र संघको निर्वाचन कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा गर्ने गरी उनले सरकारको नेतृत्व सम्हालेका थिए । तर, ६ महिनाको उनको सत्तारोहणसम्म पनि निर्वाचनको मिति नै घोषणा हुन नसकेपछि उनी अहिले आफैँले निम्त्याएको पेचिलो अप्ठ्यारामा छन् ।