रबिन्द्र प्रताप गुप्ता,
भैरहवा, माघ २९–
अन्तर्राष्ट्रिय रुपमा मनाईदै आइएको प्रणय दिवस (भ्यालेनटाईन डे) को अवसरमा भैरहवामा विशेष कार्यक्रम हुने भएको छ । १४ फेबु्रअरी (फागुन ३) मा मनाईने यो दिवसका अवसरमा भारतका चर्चित कलाकारको सहभागितामा कार्यक्रम हुने भएको हो ।
भारतका चर्चित म्यूजिसियन ए आर रहमानसंग काम गर्दै आएको राग बैण्ड र नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको होटल पवन इन्टरनेशनल प्रा.लि.को सहकार्यमा होटल पवन इन्टरनेशनलको हलमा हुन लागेको कार्यक्रमको मुख्य आकर्षण राग ब्याण्ड रहने कार्यक्रम संयोजक प्रितम पाण्डेले बताए ।
भारत, दुबई, श्रीलंका लगायतका विभिन्न देशहरुमा प्रस्तुती गरिसकेका ब्याण्डमा भैरहवाका प्रताप भट्टराई, हेमन्त भट्टराई का साथै बैगलोरका लखन खन्ना, सोर्या पोथापन्डी, कार्तिक बम्सी, रुद्र दिक्षीत सहितका कलाकारहरु रहने होटलका प्रोप्राइटर शिवकुमार यादवले जानकारी दिए । “जव तक है जहान, राजँहना लगायतका दर्जनौ म्युजिकहरु निकालेको राग व्याण्डले भैरहवामा पहिलो पटक यस्तो कार्यक्रम गर्न लागेको हो ,प्रणय दिवसलाई मध्यनजर गर्दै युवायुवतीलाई सांगीतिक बनाउन र एक अर्काको प्रेम सम्बन्धलाई प्रगाढ बनाउन यो आयोजना गरेका हौ” यादवले भने ।
प्रणय दिवसको अवसर पारी गर्न लागिएको कार्यक्रम साँझ ४ बजेबाट शुरु हुने आयोजकले बताएका छन् । प्रणय दिवस अर्थात भ्यालेन्टाइन डे लाई विशेष गरी पश्चिमी संस्कार मानिएता पनि केही बर्षयता नेपालमा यसलाई विशेष प्राथमिकताका साथ मनाउँदै आइएको छ ।