चितवन,माघ २८-
नेपालकै तेस्रो पर्यटकिय गन्तव्य चितवनको सौराहामा भोलीदेखि सुरु हुने ११औं सौराहा फुड फेष्टिवलको तयारी सकिएको छ । भ्यालेन्टाईन डेको अबसर पारेर सौराहामा फुटफेष्टिवल आयोजना गरिएको छ ।
आयोजक रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (क्षेत्रीय रेवान) ले सौरहामा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रणय दिवसको अबसर पारेर फागुन ४ गतेसम्म चल्ने क्षेत्रिय रेवानका अध्यक्ष राजन भट्टले जानाकारी दिनुभयो ।प्राकृतिक सौन्दर्यता, चितवन सौराहाको विशेषता भन्ने नारा सहित आयोजना हुन लागेको खाना महोत्सवमा विभिन्न परिकारका नेपाली तथा विदेशी खाना सहित स्थानिय थारु समुदायको परिकारहरु राखिने भट्टले जानाकारी दिनुभयो ।
यो समयमा पर्यटकहरुको मौसम नभएकाले आएका पर्यटकको बसाई लम्व्याउने र अन्य पर्यटकलाई पनि आउन प्रेरित गर्ने लक्ष्य सहित महोत्सव आयोजना गरिएको हो ।महोत्सव अबधीभरमा रेष्टुरेन्ट तथा होटलमा १५ प्रतिशत छुट तथा साना पर्यटन व्यवसायीहरुद्धारा ३० प्रतिशतसम्म छुटको घोषणा गरेका छन् ।फेष्टिवलमा राष्ट्रिय कलाकार तथा गायक राजेशपायल राई, पशुपति शर्मा, बद्रि पंगेनी, प्रजापती पराजुली लगायतले प्रस्तुति दिने छन् ।