काठमाडौं ,माघ २७ –
एमालेले स्थानीय तह पुनःसंरचना आयोगले सरकारलाई प्रतिवेदन बुझाइसकेको अवस्थामा कांग्रेसले स्थानीय निकायको निर्वाचन गरौंँ भन्नु चुनाव नगराउने प्रपञ्च भएको बताएको छ ।
एमाले उपाध्यक्ष युवराज ज्ञवालीले सत्ता साझेदार दल कांग्रेसको यस्ता अभिव्यक्तिले सरकार निर्वाचन टार्ने दाउमा छ कि भन्ने आशंका जन्माएको बताएका छन् । “बेलाबखत प्रधानमन्त्री पुष्पकमल दाहाल संविधान संशोधन गरेर मात्रै चुनावमा जान्छौँ भनेर मोर्चालाई भन्नुहुन्छ,” उनले भने, “कांग्रेस पनि स्थानीय निकायको निर्वाचन गरौँ भनेर उल्टो बाटो हिँडौँ भन्छ, हामीलाई शंका छ, सरकार निर्वाचन नगराउने दाउमा छ ।”
प्रधानमन्त्रीले दिनको दशपटक निर्वाचन हुन्छ, गर्छौं, शंका गर्नुपर्दैन भने पनि गतिविधिले त्यस्तो नदेखाएको उनको जिकिर थियो ।
संवैधानिक आयोगले बुझाएको प्रतिवेदन मान्य हुनेछ भनेर संविधानमा उल्लेख गरिएको र आयोगले प्रतिवेदनसमेत बुझाइसकेको अवस्थामा फेरि स्थानीय निकायमा फर्कन सक्ने अवस्था नभएको उनको प्रष्टोक्ति थियो ।
उनले संविधान संशोधनलगायतका विषय चुनावसम्म थाती राखेर निर्वाचनमा होमिन सरकारलाई आग्रह गरे । “जतिसुकै बहानाबाजी गरे पनि निर्वाचनबाट भाग्ने स्थिति छैन, ०७४ माघसम्म तीन तहको निर्वाचन सक्नै पर्छ । जति ढिला गर्यो, उति सरकारको विश्वसनीयतामा कमी आउँछ,” उनले भने ।
उनले मधेसी मोर्चालाई पनि जनतामा गएर आफ्ना मुद्दा स्थापित गराएर आउन सुझाव थिए । “मोर्चालाई पनि म आग्रह गर्न चाहन्छु, चुनावले नै सबै कुराको छिनोफानो गर्छ,” उनको भनाइ थियो ।
दलहरूबीच संवादहीनताको अवस्था रहेकाले जनतामा निराशा उत्पन्न भएको भन्दै दलहरूबीच घनिभूत छलफल हुनुपर्ने र छिट्टै चुनावको मिति तय गर्न सुझावसमेत उनले दिए ।
त्यस्तै, एमाले सचिव प्रदीप ज्ञवालीले पनि सरकार योजनाबद्ध ढंगले निर्वाचन नगराउने षड्यन्त्रमा लागेको भन्दै एमाले चिन्तित भएको बताए ।
“सरकारको पछिल्लो गतिविधिले एमाले सशंकित छ । सरकारका गतिविधि निर्वाचन केन्द्रित छैनन् । उसको दाउ अल्मल्याउने मात्रै छ,” उनको भनाइ थियो ।
उनले सुशील कोइराला प्रधानमन्त्री हुँदा एमालेले संक्रमणकालीन व्यवस्थाअन्तर्गत स्थानीय निकायको निर्वाचन गरौँ भन्दा संविधानको मर्मविपरीत, संविधान कार्यान्वयन विरोधी कुरा देख्ने कांग्रेसले आज आयोगले प्रतिवेदन बुझाइसकेको अवस्थामा स्थानीय निकायकै निर्वाचन गरौँ भन्नु द्वैध चरित्र भएको औँल्याए ।
“कांग्रेसको यो किसिमको अभिव्यक्ति निर्वाचन नगराउने प्रपञ्च हो, आयोगले प्रतिवेदन बुझाइसकेको छ । ढिलासुस्ती गर्ने कुरा छैन । अविलम्ब निर्वाचनको मिति घोषणा गरेर चुनावी वातावरण बनाऊँ,” उनको आग्रह थियो ।