Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
चितवनमा प्रधानमन्त्रीले ‘सुकुम्बासीको नाममा तीन बिघा बाँडेर नौ बिघाको व्यापार गरे’ – Gaule Khabar

चितवनमा प्रधानमन्त्रीले ‘सुकुम्बासीको नाममा तीन बिघा बाँडेर नौ बिघाको व्यापार गरे’

चितवनमा  प्रधानमन्त्रीले  ‘सुकुम्बासीको नाममा तीन बिघा बाँडेर नौ बिघाको व्यापार गरे’

रमेशकुमार पौडेल,

चितवन माघ २७-

सशस्त्र संघर्षका समयमा माओवादीले कब्जा गरेको व्यक्तिको जग्गामा बसेका ‘सुकुमवासी’ लाई प्रधानमन्त्री पुष्पकमल दाहालले सोही जग्गाको लालपुर्जा बाँडेका छन्। भरतपुर उपमहानगरपालिका वडा नं. १७ मंगलपुरको १२ बिघा जग्गा माओवादीले कब्जा गरेको थियो। त्यसमध्ये तीन बिघा जग्गा त्यहाँ बस्दै आएका ‘सुकुमवासी’का नाममा पास गरिएको छ।

भरतपुर एक्स्पो सेन्टर शिलान्यास गर्न बुधबार चितवन आएका प्रधानमन्त्री दाहालले मंगलपुर पुगेर लालपुर्जा वितरण गरे। शिलान्यास समारोहमा बोल्ने नेपाली कांग्रेस र राप्रपाका जिल्ला नेताले लालपुर्जा वितरणको विरोध गरेका थिए, जसको प्रतिरक्षा प्रधानमन्त्रीले नभएर चितवन जिल्लाको समेत इन्चार्ज रहेका माओवादी केन्द्रका पोलिटब्युरो सदस्य सूर्य सुवेदीले गरेका थिए।

माओवादी केन्द्रका चितवन संयोजक यमबहादुर परियारले व्यवसायी सुमित अग्रवालको नाममा रहेको १२ बिघा जग्गा माओवादीले २०५८ सालमा कब्जा गरेको जानकारी दिए। २०६३ मंसिरमा तत्कालीन सरकारसँग माओवादीले गरेको विस्तृत शान्ति सम्झौता र त्यसअघि २०६२ साल मंसिरमै तत्कालीन सात दलसँग गरेको १२ बुँदे सहमतिमा कब्जा जग्गा फिर्ता गर्नुपर्ने उल्लेख छ।

‘त्यहाँ सुकुमवासी आएर बसेका थिए। उनीहरूलाई हटाइहाल्न मिल्ने अवस्था थिएन। सुकुमवासीको चित्त बुझाएर आफ्नो जग्गा लिनुस् भनी सम्बन्धित जग्गाधनीलाई भन्दै आएका थियौं’, परियारले भने। सो ठाउँमा माओवादी निकटको किसान संगठनले २०६७ सालको जेठमा झन्डा गाडेर सुकुमवासी नहट्ने अडान लिएको थियो।

माओवादीले कब्जा गरेको जमिनमा सुकुमवासी नहटे पनि अग्रवालले सो जग्गा चितवनका उद्योगी कष्ृण अधिकारीलाई बेचेका थिए। एक वर्षअघि अग्रवालबाट आफूले सो जग्गा किनेको अधिकारीले बताए। चितवन उद्योग संघका निवर्तमान अध्यक्ष अधिकारी माओवादीको शुभचिन्तक मानिन्छन्। भरतपुर एक्स्पो सेन्टर चितवन उद्योग संघकै पहलमा बन्दैछ।

‘जग्गा मैले लिए पनि त्यहाँ बसेका मान्छे हट्न तयार भएनन्। पछि जो बसेका छन्, सबैलाई ६ घुरका दरले जग्गा दिने सहमति भयो। त्यही अनुसार मैले उनीहरूका नाममा जग्गा पास गरिदिएको हुँ’, अधिकारीले भने। प्रधानमन्त्री दाहालले ६ धुरका दरले १ सय ५६ जनाको नाममा तयार भएको लालपुर्जा एकमुष्ठ हस्तान्तरण गरे। त्यसैगरी बस्तीका बासिन्दालाई स्कुल सञ्चालन गर्ने भनेर केही जग्गा छुट्याइएको छ।

तीन बिघा सुकुमवासीलाई बाँडेर बाँकी नौ बिघा जग्गा अधिकारीले अरु नै जग्गा व्यवसायीलाई बेचेका छन्। अधिकारीबाट जग्गा किनेका घडेरी व्यवसायीले अहिले सो ठाउँमा प्लटिङ गरेका छन्। धेरै लामो संघर्ष र मेहनतले सुकुमवासीले पाएको लालपुर्जा वितरण गर्दा आफूलाई हर्ष लागेको प्रधानमन्त्री दाहालले बताए।

भरतपुरमा आयोजित कार्यक्रममा राप्रपा नेता बद्री तिमिल्सिनाले सशस्त्र संघर्षका बेला कब्जा भएको व्यक्तिको जग्गा उसैलाई फिर्ता दिनुपर्नेमा भूमाफिया लगाएर धेरै नाफा व्यापारीलाई दिने र केही जग्गा सुकुमवासीलाई बाँड्ने काम भएको भन्दै आपत्ति जनाए। कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले ‘प्रधानमन्त्रीजस्तो व्यक्तिले यो शैलीमा लालपुर्जा वितरण गर्न नहुने’ बताए।

लालपुर्जा वितरण कार्यक्रम माओवादी केन्द्रले नै आयोजना गरेको थियो। सुकुमवासी र जग्गाधनीबीच मतभेद बढ्दै गएकोमा माओवादीले सफलतापूर्वक विवाद समाधान गरेको हुँदा अन्य पार्टीले दुःख मान्न नहुने माओवादी नेता सुवेदीको भनाइ छ।

मारवाडी समुदायका व्यक्तिको जग्गा भएका कारण सो ठाउँलाई मारवाडी चौर भन्ने गरिन्छ। माओवादीले सुकुमवासी बसाएपछि लालचोक भन्न थालिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका