भारत , माघ २६ –
निर्देशक, निर्माता तथा अभिनेता प्रकाश राज दक्षिण भारतीय सिनेमाका सुपरस्टार हुन् । उनले सिनेमाकै लागि आफ्नो नाम प्रकाश रायबाट प्रकाश राज बनाएका हुन् । २६ मार्च १९६५ मा जन्मेका प्रकाश राज सिनेमामा आउनु अघि थियटर कलाकार थिए । यसका साथै उनले स्ट्रीट र स्टेज शो पनि गर्थे । स्टेज शो गरेर उनी महिनामा ३ सय रुपैयाँ कमाउँथे ।
सडक नाटक र स्टेज शोहरु गर्दै उनले टेलिभिजन सिरियलमा काम गर्ने मौका पाए । उनलाई सिरियलमा काम गर्दा धेरैको साथ र सहयोग मिल्यो । पछि उनले विस्तारै सिनेमामा पनि काम गर्न थाले । पहिले उनले कन्नड सिनेमामा काम गर्ने मौका पाए । त्यसपछि सन् १९९४ मा डुयट सिनेमाबाट उनले तमिल सिने उद्योगमा ब्रेक लिए । उनको पहिलो सिनेमा नै सुपरहिट भयो । त्यसपछि उनलाई काम पाउन गाह्रो भएन ।
सिनेमामाकामगर्ने क्रममाउनले विभिन्न किसिमका भूमिकाहरु निभाएका छन् । तर उनले भिलेन भएर काम गरेका सिनेमाहरु दर्शकले रुचाए । त्यसैले उनले सिने करिअरमा धेरैजस्तो सिनेमामा भिलेन नै भएर काम गरे ।
प्रकाश राजले बलिउड सिनेमामा पनि काम गरे । उनले सन् २००९ मा सलमान खानको सिनेमा वान्टेडबाट बलिउडमा ब्रेक लिएका हुन् । त्यसपछि उनले संघीम, दवंग २, मुम्बई मिरर, पुलिसगिरी, हिरोपन्ति, जंजीर लगायतका सिनेमामा काम गरेका छन् ।