Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
एसएसपीको बर्दी खोल्ने डीएसपी भन्छन्- प्रहरीकै हाकिम समात्नुपर्ला भन्ने सोचेको थिइनँ – Gaule Khabar

एसएसपीको बर्दी खोल्ने डीएसपी भन्छन्- प्रहरीकै हाकिम समात्नुपर्ला भन्ने सोचेको थिइनँ

एसएसपीको बर्दी खोल्ने डीएसपी भन्छन्- प्रहरीकै हाकिम समात्नुपर्ला भन्ने सोचेको थिइनँ

काठमाडौं,माघ २५ –

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को कार्यालयमा वातावरण केही फेरिएको छ । नफेरियोस् पनि किन ? अघिल्लो दिनसम्म सलाम हानिरहेको आफ्नै एसएसपी ‘सुन तस्कर’को आरोपमा हिरासतमा थुनिएका छन् ।

विमानस्थलमा ३४ किलो सुन काण्डको आरोपमा हेडक्वार्टरबाटै समातिएका एसएसपी श्याम खत्री अहिले सीआइबीको हिरासतमा छन् ।उनीसँगै विभिन्न युनिटमा काम गरेका केही अधिकृतहरु सकेसम्म एसएसपी खत्रीको सामुन्ने पर्नु नपरोस भन्दै तर्किइरहेका छन् ।

ब्युरोका प्रमुख डीआइजी नवराज सिलवाललाई सोमबार भ्याइनभ्याई थियो । १० बजेको नियमित बैठकका लागि समेत सिलवाल आउन भ्याएनन् । करिब साढे १ बजे तिर कार्यालय छिरेका सिलवाल निकै थकित मुद्रामा देखिन्थे ।

डीआइजी सिलवालको प्रहरी जीवनमा पनि आइतबारको घटना निकै नौलो थियो । कुनै दिन सँगै प्रहरीमा भर्ना पुगेको साथीलाई हत्कडी लगाउने निर्णय गरेका थिए उनले ।

एसएसपी खत्री र डीआइजी सिलवाल ०४४ सालमा सँगै प्रहरीमा भर्ना हुन पुगेका थिए । तर सिलवाल एकै पटकमा भर्ना भए भने खत्री पहिलो चरणमा छानिएनन् । र वैकल्पिकमा परे । उनी ०४५ सालमा प्रहरी संगठनमै आए ।

लगभग आफ्नै ब्याजका एसएसपीलाई पक्राउ गर्नुभएको छ, प्रमाण पुगेरै हो त ? भन्ने प्रश्नमा सिलवालले भने ‘कानुनले आफ्नो भन्दैन, । हामीसँग प्रमाण छ, त्यसैका आधारमा पक्राउ गरिएको हो ।’

करिब पाँच वर्षअघि सशस्त्र प्रहरी बलका तत्कालीन डीआइजी रञ्जन कोइराला श्रीमती हत्या काण्डको आरोपमा पक्राउ परेका थिए । उनलाई पनि आफ्नै ब्याजी काठमाडौं परिसरका तत्कालीन एसपी राजेन्द्र श्रेष्ठले हत्कडी लगाएका थिए ।

ब्युरोका डीएसपी प्रवीण पोखरेलको जीवनमा आइतबारको घटना कहिलै नविर्सने दिन भएको छ । नेपाल प्रहरीको इतिहासमा कहिल्यै नभएको घटनामा डीएसपी पोखरेल कमाण्डर बनेका थिए । आफ्नै हाकिमलाई हेडक्वाटरबाटै बर्दी फुकाल्न लगाएर हिरासतमा ल्याउने डीएसपी पोखरेल सोमबार खत्रीको बयान लिन र प्रमाण संकलन गर्न व्यस्त थिए ।

डीएसपी पोखरेल भन्छन् – ‘प्रहरीको जागिर खाइयो, प्रहरीकै हाकिम समात्नुपर्ला भनेर कसले सोचेको हुन्छ र ? तर पनि कानुनले दिएको जिम्मेवारी पूरा गर्नैपर्छ ।’

एसएसपी खत्रीलाई थुनामा राख्ने म्याद थप्न पनि डीएसपी पोखरेल आफैं सोमबार जिल्ला अदालत पुगेका थिए । सोमबार जिल्ला अदालत काठमाडौंले एसएसपी खत्रीलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद दिएको छ । -अनलाइन खबर

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका