Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
जाजरकोटमा आफ्नालाई शिक्षक बनाउन उत्तरपुस्तिका फेरबदल – Gaule Khabar

जाजरकोटमा आफ्नालाई शिक्षक बनाउन उत्तरपुस्तिका फेरबदल

जाजरकोटमा आफ्नालाई शिक्षक बनाउन उत्तरपुस्तिका फेरबदल

जाजरकोट, माघ २४-

आफू निकटका व्यक्तिलाई शिक्षक नियुक्ति गर्न उत्तरपुस्तिका नै फेरबदल गरिएको छ । जुर्क दहस्थित अमरज्योति आधारभूत प्राथमिक विद्यालयको प्राथमिक तह राहत शिक्षक नियुक्तिमा त्यस्तो भएको हो ।

विद्यालय निरीक्षक धनञ्जय आचार्य, प्रधानाध्यापक कैलाश साहलगायतको मिलेमतोमा पुस्तिका फेरबदल भएको परीक्षार्थीको आरोप छ । शिक्षक नियुक्तिका लागि विद्यालयले गत शुक्रबार जिल्ला शिक्षा कार्यालयमै लिखित र मौखिक परीक्षा सञ्चालन गरेको थियो । सहभागी ११ मध्ये सर्पे तिरुवा, शोभा बुढा, पूर्णबहादुर घर्ती र खिमबहादुर खड्का लिखितमा सफल भए ।

तिरुवाले लिखित तथा मौखिक परीक्षामा सबैभन्दा बढी ५० अङ्क ल्याए । घर्तीले ४६ पाए । प्रअ साह, निरीक्षक आचार्य र विद्यालय व्यवस्थापन समिति अध्यक्ष नवीना घर्तीलगायतको मिलेमतोबाट रातारात उत्तरपुस्तिका नै परिवर्तन गर्ने काम भयो । परीक्षार्थी घर्तीको प्राप्ताङ्क सर्पेको भन्दा केही बढी गराएर फर्जी काम भएको खुलेको छ ।

लिखित र मौखिकको अङ्क जोडेको मुचुल्कामा सबैले हस्ताक्षर गर्दासम्म सबैभन्दा बढी अङ्क आफ्नै भएको परीक्षार्थी सर्पेले बताउनुभयो । “परीक्षाफल प्रकाशनको मुचुल्का भइसकेपछि कोठातर्फ लागियो, राति त घर्ती उत्तीर्ण भएको सूचना आयो” – उहाँले भन्नुभयो । सर्पेले परीक्षा सञ्चालनमा जिम्मेवारी लिएका सम्बन्धित पक्षले घर्तीलाई शुक्रबार राति नै पुनः परीक्षा दिनलगाई अर्को उत्तरपुस्तिका तयार गरेर मुचुल्कासमेत बदलेको आरोप लगाउनुभयो । ती सबैको मिलेमतोमा भेरीमालिका नगरपालिका–१३ कुदुस्थित एक होटलमा अर्को उत्तरपुस्तिका र मुचुल्का तयार भएको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य प्रेमबहादुर शाहीले बताउनुभयो । परिवर्तन गरेको उत्तरपुस्तिका प्रधानाध्यापक साहले नै राखेको र निरीक्षक आचार्य, विषय विशेषज्ञलगायतको सहमतिमा उक्त कार्य भएको घर्तीले स्वीकारे ।

विद्यालयले विषय विशेषज्ञका रूपमा शिक्षक वीरबहादुर शाही र बिना शाहीलाई मनोनयन गरेको थियो । जिल्ला शिक्षाले कार्यालयका तर्फबाट विद्यालय निरीक्षक आचार्यलाई परीक्षा सञ्चालन गर्न खटाएको थियो ।
आर्थिक प्रलोभन र राजनीतिक आस्थाका आधारमा उत्तरपुस्तिका नै फेरबदल भएको सर्पेको आरोप छ । अवैध कार्यको उचित छानबिन गरी आफूलाई नियुक्ति पाउने व्यवस्था मिलाइदिन उहाँले जिल्ला प्रशासनमा उजुरी दिनुभएको छ ।

आधारभूत विद्यालय जुर्कको शिक्षक नियुक्तिका लागि लिएको परीक्षामा अनियमितता भएको भन्ने उजुरी आएको जिशिअ ललितविक्रम सिंहले पुष्टि गर्नुभएको छ । -रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका