चितवन, माघ २४–
चितवन उद्योग संघको अगुवाईमा मध्य नेपालको गौरवको रुपमा निर्माण हुन लागेको “चितवन प्रदर्शनी केन्द्र”को प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिलन्यास गर्नुहुने भएको छ ।
चितवन उद्योग संघले आज पत्रकार सम्मेलन गरि माघ २६ गते बुधबार विहान ११ बजे प्रधानमन्त्री दाहालले शिलन्यास गर्ने जानकारी दिएको हो । चितवनबासी समेत रहनु भएका प्रधानमन्त्री दाहालबाट गरिन लागिएको शिलन्यास कार्यक्रमको तयारी पुरा भई सकेको चितवन उद्योग संघका महासचिव सूर्यप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।
चितवन उद्योग संघले औद्योगिक प्रदर्शनी मैदान, भरतपुरको २ बिगाहा ७ कठ्ठा १/२ धुर जमिनमा सो प्रदर्शनी केन्द्र निर्माण गर्न लागेको संघका वरिष्ठ उपाध्यक्ष एवंम निर्माण समितिका संयोजक भेषराज दुवाडीले जानकारी दिनुभयो । घरेलु उद्योग कार्यालयको नाममा रहेको सो जग्गा चितवन उद्योग संघले २९ वर्षका लागि लिजमा लिएर आधुनिक प्रदर्शनी केन्द्र निर्माण गर्न लागेकोे हो ।
प्रदर्शनी केन्द्रको निर्माणका लागि कुल लागत ३० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । यसका लागि रू.१५ करोड रुपैँया नेपाल सरकारसँग अनुदानका रुपमा माग गरिएको वरिष्ठ उपाध्यक्ष दुवाडीले जानकारी दिनुभयो । अपुग १५ करोड रुपैयाँका लागि चितवन उद्योग संघका सदस्यहरु एवम् देशविदेशमा बसोबास गर्ने विकास प्रेमी नागरिकहरु, संघ संस्थाहरुसँग सकंलन गर्ने लक्ष्य लिइएको उहाँले बताउनुभयो ।
यस प्रदर्शनी केन्द्रमा सुविधा सम्पन्न ठूला तिनवटा प्रदर्शनी भवनहरु रहनेछन् । जसमा प्रति हल एक सय वटा स्टलहरु बन्ने छन् । यस परियोजना भित्र सचिवालय, बालउद्यान, फुट कोर्ट र अपाङ्गमैत्री शौचालय रहने छन् । प्रदर्शनी केन्द्रलाई वातावरण मैत्री बनाउन प्रयास गरिएको छ । निर्माण कार्य शुरु भए पश्चात २ वर्ष भित्र यो परियोजना सम्पन्न गरि सक्ने संघका अध्यक्ष भीमबहादुर पाण्डेले बताउनुभयो । “शिलन्यास गरिएपछि निर्माण कार्यले तिव्रता लिन्छ, हामी निर्माण पुरा गराएरै छाड्छौं ।”–अध्यक्ष पाण्डेले भन्नुभयो ।
निर्माण कार्यलाई सुरुवात गराउन संघले कार्य समिति मार्फतै ४ करोड रुपैयाँ उठाउने जनाएको छ । अहिले यो रकम उठाउने कार्य भईरहेको संघले जनाएको छ ।
उद्योगको विकासको लागि अत्यन्त महत्वपूर्ण हुने औद्योगिक प्रदर्शनीहरु सञ्चालन गर्न व्यवस्थित प्रदर्शनी केन्द्रको अभाव रहेका कारण चाहेको समयमा प्रदर्शनी आयोजना गर्न नसकि मौसम अनुकुलताको आधारमा मात्र प्रदर्शनीहरु सञ्चालन भएका छन् । यस प्रदर्शनी केन्द्र निर्माण पश्चात ति सबै समस्याहरु समाधान हुने संघका प्रथम उपाध्यक्ष त्रिलोचन कँडेलले बताउनुभयो । उहाँले यसको निर्माणमा सबैले आ–आफ्नो तर्फबाट सहयोग गर्नुपर्ने बताउनुभयो ।
पत्रकार महासंघ चितवनका अध्यक्ष हरिप्रसाद पोखरेलले चितवनमा निर्माण हुन लागेको ठूलो परियोजना सम्पन्न गर्न सबैको दायित्व रहेको बताउनुभयो । उहाँले यसको निर्माणका लागि चितवनका संचारमाध्यमहरुले उल्लेखीय सहयोग पुर्याउने विश्वास दिलाउनुभयो ।