वीरगञ्ज, माघ २३–
गत शुक्रबार नारायणी उपक्षेत्रीय अञ्चल अस्पताल वीरगञ्जको प्रसुती वार्डबाटै जन्मिएको ३ घण्टामै नवजात शिशु बेपत्ता भयो ।
बच्चा चोरी भएपछि बच्चाका अभिभावक र गाँउलेले दुई दिनसम्म अस्पतालमा प्रदर्शन गरे । अस्पताल र प्रहरीले बच्चा खोज्ने प्रतिबद्धतापछि प्रदर्शन रोकिएको थियो । शुक्रबार हराएको शिशु छोरा आइतबार दिउँसो पर्साको बेलवामा भेटिएको छ । पर्सा सिक्टाकी लालसादेवी शाहले अस्पतालबाट बच्चा चोरेकी हुन्। आइतबार प्रहरीले २२ वर्षीय लालसालाई सकुशल बच्चासहित पक्राउ गरेको हो ।
लालासा बेल्वा गाविस वडा नं-९ स्थित आफ्नो माइतमा सुत्केरी बनेर बसेकी थिइन् । छोरो जन्माएर सुत्केरी खान माइत आएकी लालसादेवीको स्याहार सुसारमा बेल्वा निवासी बिन्देश्वर कानूको परिवार सक्रिय भयो । उनले माइतमा आफू सुत्केरी खान आएको बताएकी थिइन् । तर लालसाको त्यो झूट ४८ घण्टा नबित्दै पर्दाफास भयो, जब आइतबार प्रहरीको टोलीले उनलाई माइतबाटै पक्राउ गर्यो ।
वीरगञ्ज उपमहानगरपालिका-१ टपकैया बस्ने मुकेश पासवानकी श्रीमती आशादेवीले शुक्रबार बिहान छोरालाई जन्म दिइकी थिइन् । भर्खरै जन्मिएको शिशुलाई हेरचाह गर्ने नर्स र आफन्तहरु त्यहाँ नभएको मौका पारेर लालसाले शिशु चोरेकी थिइन् ।
प्रहरीले आइतबार फेला पार्न सफल भएको उक्त शिशुको आँखामा समस्या देखिएपछि उनलाई सघन उपचार कक्षमा राखेर अहिले उपचार भईरहेको छ । आइतबार दिउँसो ४ बजे पत्रकार सम्मेलन गरी प्रहरीले बच्चा चोर्ने लालसा र उनको वास्तविकता सार्वजनिक गरेको हो ।
प्रहरीलाई दिएको बयानमा लालसादेवीले एक महिनादेखि आफू बारम्बार बच्चा चोर्ने प्रयास गरिरहेकी तर शुक्रबार मात्रै सफल भएको बताएकी थिइन् ।बिहे भएको ५ वर्ष भइसक्दा पनि बच्चा जन्माउन असमर्थ भएपछि लालसादेवी चिन्तित थिइन् । उनले यो चिन्ता हटाउन नवजात शिशु चोर्ने निर्णय गरेको बयानमा बताएकी छिन् ।