चितवन, माघ २२–
लियो क्लव अफ भरतपुरको आयोजनामा भएको पहिलो जिल्ला स्तरीय तेक्वान्दो च्याम्पियनसिपको उपाधि ए के ७४ तेक्वान्दो डोजाङ बेलचोकले उचालेको छ ।
आज (शनिबार) सकिएको प्रतियोगितामा कुल ४ स्वर्णसहित बेलचोक डोजाङ प्रथम भएको हो । प्रतियोगितामा पुरुष तर्फ उत्कृष्ठ खेलाडीमा कठार तेक्वान्दो डोजाङका अमृत तामाङ घोषित भए भने महिला तर्फ उत्कष्ठ खेलाडीमा माडी तेक्वान्दो डोजाङकी प्रेरणा भुषाल भईन् ।
प्रतियोगितामा ३५० खेलाडी सहभागि थिए भने २५ जना जुरी रहेको थियो । प्रतियोगितामा पुरुष र महिला तर्फ १८ जना प्रथम, १८ जना द्धितिय र ३६ जना तृतीय भएका छन् । प्रतियोगिताका मूख्य जुरी राष्ट्रिय तेक्वान्दो संघ चितवनका अध्यक्ष विनोद श्रेष्ठले यस प्रतियोगिताले राष्ट्रिय स्तरको प्रतियोगिताका लागि खेलाडी छनौट गर्न सहज भएको बताउनुभयो । प्रतियोगिताको निर्णायक (जुरी)मा राधाबहादुर तामाङ, कमला केवीलगायत रहेका थिए ।
प्रतियोगितामा ९ तौल समूहमा भिडन्त भएको थियो । प्रतियोगिताका विजेता खेलाडीहरुलाई आजै प्रमाण पत्र र मेडल प्रदान गरिएको लियो क्लव अफ भरतपुरका प्रथम उपाध्यक्ष अनुप भुजेलले जानकारी दिए । प्रतियोगितालाई सफल बनाउन रफि अन्सारी र अजित कुमालले महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए ।
प्रतियोगिताको समापन समारोहमा लियो क्लव अफ भरतपुरका पूर्व अध्यक्ष सन्तोष मजाकोटी, करातेका वरिष्ठ खेलाडी अन्सारी, कार्यक्रम संयोजक सुरज घिमिरेलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम लियो क्लव अफ भरतपुरका अध्यक्ष प्रजिल श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।