Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
भूकम्पपीडितलाई जस्ता बाँड्दा एनजिओको ठगी, १८ पातामा सही गराएर दियो १४ पाता – Gaule Khabar

भूकम्पपीडितलाई जस्ता बाँड्दा एनजिओको ठगी, १८ पातामा सही गराएर दियो १४ पाता

भूकम्पपीडितलाई जस्ता बाँड्दा एनजिओको ठगी, १८ पातामा सही गराएर दियो १४ पाता

गोकर्णप्रसाद भण्डारी

चरिकोट माघ २२-

भूकम्पपीडितलाई जस्ता वितरण गर्दा पटक पटक विवादमा आएको प्लान नेपाल भर्खरै दोलखाको शैलुङ्गेश्वरमा फेरि जस्ता विवादमा तानिएको छ। एक वर्षअघि प्लान नेपालले दोलखाका भूकम्पपीडितलाई वितरण गरेको जस्ता कमसल र गुणस्तरहीन भएको भन्दै चौतर्फी विरोध भएपछि विदेशमा रहेको मुख्य कार्यालयले छानबिन गरेको घटना सेलाउन नपाउँदै शैलुङ्गेश्वर गाविस लगायतका क्षेत्रमा बाँडेको जस्ता तथा अन्य राहत सामग्रीमा गम्भीर लापर्वाही भएको तथ्य सार्वजनिक भएको छ।  दोलखाको शैलुङ्गेश्वर गाविसमा प्लान नेपाल आफैले ठेकेदारमार्फत बाँडेको जस्तामा १८ पाता जस्तापाताको हस्ताक्षर गराएर १४ पाता जस्तापाता मात्रै स्थानीय भूकम्पपीडित जनतालाई बाँडेसँगै प्लान नेपालले गरेको भ्रष्टाचारको तथ्य सार्वजनिक भएको हो।

स्थानीय शिव थपलियाका अनुसार प्लान नेपालले शैलुङ्गेश्वर गाविस वडा नं ८ का २५ घरपरिवारलाई १८ पाता जस्ता दिएको भनी हस्ताक्षर गर्न लगाएर १६ पाताजस्ता मात्रै दिएको भेटिएको छ। सोही गाविस वडा नं २ का ५६ परिवारलाई भने १८ पाता जस्ता बुझेको हस्ताक्षर गर्न लगाई १४ पातामात्रै जस्ता दिएपछि स्थानीय जनता जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन आउने भएका छन्। प्लान नेपालले गाउँमा नभएका व्यक्तिहरुको पनि नाम टिप्दै कीर्ते हस्ताक्षर गरी राहत सामग्रीमा अनियमितता गरेको भन्दै स्थानीयवासीले सरोकारवाला निकायमा उजुरी गर्ने बताएका छन्। प्लानले दोलखाको १६ गाविसलाई कार्यक्षेत्र बनाई कार्य गरिरहेको छ। प्लानले शैलुङ्गेश्वर गाविसमा बाँस, त्रिपाल, चामल, लत्ताकपडा र जस्ता वितरण गरेको थियो।

स्थानीय समाजसेवी अरुण उप्रेती भन्छन्, “दिउँसो सामान बाँड्ने भनेर राति बोलाइन्छ। सामान ढुवानी गर्ने भन्दै स्थानीयवासीहरुबाट पनि पाँच सय देखि सातसयका दरले रकम उठाएका छन्। प्लान नेपालले ठेकेदारलाई ढुवानीसम्मको रकम उपलब्ध गराएको हुन्छ, तर प्लानका कर्मचारीले यो सिधासिधा भूकम्पपीडित ठग्ने खेल गरे।” जस्ता खरिद गरेका संखुवासभाका जस्ता सप्लायर्स कम्पनीका भानुभक्त कलादीले आफूले जस्ता खरिद मात्रै गरेको र वितरण र नपुगकाबारेमा प्लान नेपालका कर्मचारीलाई सोध्न आग्रह गरे।  प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले प्लान नेपालले गरेको गल्ती पुष्टि भए कानुनी कारबाही गरिने बताए। शैलुङ्गेश्वर वडा नं ८ का कुमार थपलियाले आफूलाई १८ पाता जस्तामा हस्ताक्षर गराएर १६ पातामात्रै जस्ता दिएको बताएका छन्।

त्यस्तै, शैलुङ्गेश्वर वडा नं ८ का खड्गबहादुर थपलियाले पनि १८ पाता जस्तामा हस्ताक्षर गर्न लगाएर १६ पाता मात्रै दिन लागेपछि जस्ता नबुझेको बताउँछन्। उनी भन्छन् – पैसा पनि तिर्नु, जस्ता पनि कम पाउनु। त्यसैले मैले जस्ता बुझिन।’ स्थानीयवासी शिव थपलियाले प्लानको चरिकोट कार्यालयमा सूचना मागेर भरपाई अध्ययन गर्दा प्लान नेपालले राहत सामग्री बाँड्दा एउटै व्यक्तिलाई चार थरी सामान दिँदा चार थरीकै हस्ताक्षर भेटिएको तथ्य बाहिर आएको बताए।

  प्लान नेपालका अनुसार दसैं अगावै जस्ता स्थानीय जनतालाई बाँड्नुपर्ने जस्ता प्रतिकूल मौसम र बाटोको समस्याले गर्दा बाँड्न नसकिएको स्वीकारेको छ। वितरणमा केही त्रुटL भएको पनि उसले बताएको छ। यस विषयमा सोध्न खोज्दा प्लान नेपाल क्षेत्रीय कार्यालय चरिकोटका संयोजक चन्द्र कायस्थ टेलिफोन सम्पर्कमा आउन चाहेनन्। प्लान नेपालका एक कर्मचारीले नाम नलेख्ने सर्तमा ठेकेदार र वडा नागरिक मञ्चको रोहबरमा विभिन्न राहत सामग्री बाँडिएको र स्थानीयवासीकै सहमतिमा पाँचसय देखि सातसयसम्मको ढुवानी रकम उठाएको बताएका छन्। प्लानले शैलुङ्गेश्वर गाविसमा मात्रै ४९९ परिवारलाई जस्ता वितरण गरेको बताएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका