सप्तरी, माघ २२ –
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले संविधान संशोधन विधेयक संशोधनसहित पारित गर्नुपर्ने बताउनुभएको छ ।
सप्तरीको राजविराजमा उहाँले संविधान संशोधनको विधेयक परिमार्जनसहित पारित गर्नुपर्ने भन्दै अहिलेकै अवस्थामा संविधान कार्यान्व्यन र चुनाव सम्भव नरहेको बताउनुभएको हो ।
उहाँले झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा र उदयपुर जिल्लासहितको प्रदेशसँगै तराई मधेसमा ३ प्रदेश र पहाडमा ५ प्रदेश गरी ८ प्रदेशको संरचना नै अहिलेको सीमांकन समस्याको निकास भएको दाबी पनि गर्नुभयो ।
कुनैपनि हालतमा संविधान संशोधन हुन नदिने एमालेको अडान र जसरी पनि संशोधन पारित गरेरै छाड्ने सरकारको सोच अतिवादी भएको अध्यक्ष गच्छदारले आरोप लगाउनुभयो । मधेसलाई स्वतन्त्र राष्ट्र बनाउनु पर्छ भन्ने धारणामा आफ्नो असहमति रहेको उहाँले बताउनुभयो ।