बिराटनगर,माघ २२ –
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डको सरकारले चुनाव नगराए एमालेले सरकार ढालिदिने लाक्षणिक अभिव्यक्ति दिएका छन् । प्रचण्ड नेतृत्वको सरकार चुनाव नगराउने षडयन्त्रमा लागेको भन्दै तत्काल चुनावको मिति घोषणा नगरे यो सरकार कुनै पनि समयमा अप्ठ्यारोमा पर्न सक्ने ओलीले चेतावनी दिएका हुन् ।
एमालेनिकट पत्रकारहरुको संगठन प्रेस चौतारीले शनिबार बिराटनगरमा आयोजना गरेको पुरस्कार वितरण कार्यक्रममा एमाले अध्यक्ष ओलीले भने( ‘सरकार चुनाव नगराएर सवैधानिक र राजनितिक संकट गराउन उद्धत हुँदैछ, हामी त्यो अवस्था आउनुभन्दा अगावै संकटबाट बच्ने उपाय गराएर छाड्छौं ।’
केपी ओलीले स्पष्ट शब्दमा नबताए पनि सरकारले चुनाव टार्ने स्थिति आएका एमालेले सरकार ढाल्ने र आफ्नो नेतृत्वमा चुनावको वातावरण बनाउने लाक्षणिक अभिव्यक्ति दिएका छन् ।
पूर्वप्रधानमन्त्री ओलीले कुनै पनि हालतमा एमाले चुनाव गराएरै छाडने दाबी गरे । उनले भने( ‘एमाले यो मुलुकमा निर्वाचन गराएरै छाड्छ, त्यो कुरा सरकारले बुझे हुन्थ्यो, बुझ्दैन भने हामी बुझाएर छाड्छौं ।’
नेकपा एमाले कुनै पनि कुराको इच्छामात्रै गरेर बस्ने पार्टी होइन भन्दै एमाले गरेर देखाउने पार्टी भएको बताए ।
‘सरकारको काम एमाले खोज्ने मात्र’
एमाले अध्यक्ष ओलीले प्रचण्ड प्रधानमन्त्रीमा छानिएको ६ महिना ४ दिन बितिसक्दा पनि केही काम नगरेको आरोप लगाए । प्रचण्ड नेतृत्वको सरकारले एमाले काँही भेटिन्छ कि र हटाउन सकिन्छ कि भनेर खोज्दै आफ्ना मान्छे नियुक्ति गर्ने वाहेक कुनै उपलव्धीको काम गर्न नसकेको ओलीले आरोप लगाए ।
आफ्नो नेतृत्वको सरकारले नाकाबन्दी र मधेस आन्दोलनको अवस्थामा पनि देश र जनताका लागि धेरै उपलव्धीमूलक काम गरेको स्मरण गदै ओलीले भने- ‘यो सरकारले अहिलेको सहज परिस्थितिमा पनि देश र जनताका लागि सिन्को भाँचेन, त्यसैले यो सरकार मुलुकको भलो गर्न वनेको सरकार होइन ।
‘भाडाका पत्रकार’
एमाले नेता ओलीले अहिलेको अवस्थामा चुनावको माहोल तयार हुने खालका समाचार सम्प्रेषण गरी चुनावको माहौल तयार गर्न र सरकारलाई दबाव सिर्जना गर्न पत्रकारहरुहरुलाई सुझाव दिए । प्रचण्ड नेतृत्वको सरकारले गरेका निर्णयहरुलाई समर्थन गर्नेहरुलाई उनले ‘भाडाका पत्रकार’ भएको आरोपसमेत लगाए ।
पत्रकारलाई पाठ सिकाउँदै एमाले अध्यक्ष ओलीले भने- ‘अहिलेको सरकारको मुख्य काम के हो सो बारेमा, सरकारले गर्नुपर्ने काम कर्तव्यका बारेमा पत्रकारले कलम चलाउनुपर्छ, तर केही भाडाका पत्रकारहरुले देश र जनताको हित भन्दा पनि सरकारको हित अनुकुल कलम चलाउने गरेका छन् यस्ता पत्रकार भाडाका हुन् ।
कार्यक्रममा ओलीको हातबाट पत्रकार शान्ति दाहाललाई १० हजार रुयैयाँ राशीको स्व कृष्णप्रसाद सिग्देल स्मृति युवा पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो । साथमा अन्य चार व्यक्तित्वलाई सम्मान समेत गरिएको थियो । – अनलाइन खबर