Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
सरकारी जागिरमा आकर्षण बढ्दो- ४५८ माग ७४ हजारको आवेदन – Gaule Khabar

सरकारी जागिरमा आकर्षण बढ्दो- ४५८ माग ७४ हजारको आवेदन

सरकारी जागिरमा आकर्षण बढ्दो- ४५८ माग ७४ हजारको आवेदन

काठमाडौ,माघ २२-

लोकसेवा आयोगले राजपत्र अनंकित तह नायब सुब्बामा खुला तथा समावेशीतर्फ चार सय ५८ पदका लागि दरखास्त आह्वान गरेको छ । दरखास्त भने ७४ हजार एक सय ३९ जनाले पेस गरेका छन् । यो मागको १६२ गुना बढी हो । लोकसेवा आयोगले २६ पुसमा विज्ञापन प्रकाशित गरी खुला तथा समावेशीतर्फ नायब सुब्बाका लागि दरखास्त आह्वान गरेको थियो । शुक्रबार दरखास्त दिने अन्तिम दिन थियो । दोब्बर दस्तुर तिरेर अझै एक सातासम्म दरखास्त दिन सकिने व्यवस्था छ । आयोगका प्रवक्ता लक्ष्मीविलास कोइरालाले दोब्बर दस्तुरको समय सकिँदा दरखास्त दिनेको संख्या ८० हजार पुग्ने अनुमान गरिएको बताए ।

आयोगको विश्वसनीयता, सरकारी जागिरको सुरक्षा र स्थायित्वका कारण दरखास्त दिनेको संख्या अत्यधिक रहेको कोइरालाले बताए । ‘सरकारी जागिरको सुरक्षा र स्थायित्वका कारण लोकसेवा आयोगले मागेका पदमा प्रतिस्पर्धा गर्न आवेदन दिनेको संख्या वर्षेनी बढ्ने गरेको छ,’ उनले भने,‘ आयोगको विश्वसनीयता र निष्पक्ष परीक्षा प्रणालीका कारण पनि आवेदन दिनेको संख्या बढेको हो । निजामती सेवालाई उत्कृष्ट बनाउन आयोग प्रतिबद्ध छ । आयोगले राजनीतिक वा अन्य कुनै प्रकारको दबाबबाट स्वतन्त्र भएर समान अवसर प्रत्याभूति गर्दै आइरहेको छ ।’

मध्यमाञ्चलबाट धेरै दरखास्त

लोकसेवा आयोगले अनलाइनमार्फत दरखास्त लिँदै आएको छ । आयोगका अनुसार मध्यमाञ्चल क्षेत्रीय कार्यालयमा सबैभन्दा बढी ३२ हजार ६ सय ९० दरखास्त परेका छन् ।

मध्यमाञ्चलमा नायब सुब्बा तहका एक सय ९८ पदमा आवेदन मागिएको छ । पूर्वाञ्चल क्षेत्रीय कार्यालय धनकुटाबाट नासुकै ९१ पदका लागि १४ हजार ६ सय ५४ को दरखास्त परेको छ । पश्चिमाञ्चल क्षेत्रीय कार्यालयबाट मागिएको ६९ पदका लागि ११ हजार चार सय सातजना, मध्यपश्चिमाञ्चल क्षेत्रीय कार्यालयबाट मागिएको ५७ पदका लागि आठ हजार ६ सय ५० जना र सुदूरपश्चिमाञ्चल क्षेत्रीय कार्यालयबाट मागिएको ४३ पदका लागि ६ हजार सात सय ३८ जनाले दरखास्त पेस गरेका छन् ।

आयोगले हालै थप गरेका तीन परीक्षा केन्द्रमध्ये लहानमा चार हजार चार सय ६३ जनाले दरखास्त दिएका छन् । वीरगन्ज केन्द्रमा दुई हजार नौ सय ३१ र डोल्पा केन्द्रमा ७३ जनाको दरखास्त परेको छ । लोकसेवा आयोगले पाँचवटै क्षेत्रीय कार्यालय, अञ्चल कार्यालय र केन्द्रबाट परीक्षा सञ्चालन गर्ने गरेको छ । खुला तथा आन्तरिक परीक्षा प्रथम चरणको फागुनमा र दोस्रो चरणको वैशाखमा हुने आयोगले जनाएको छ ।

९ सय ८० शाखा अधिकृतमा ५३ हजारको दरखास्त परेको थियो लोकसेवा आयोगले यसअघि मागेको शाखा अधिकृतको प्राविधिक र अप्राविधिक गरी नौ सय ८० पदमा ५३ हजार चार सय १६ जनाको दरखास्त परेको थियो । आयोगले कात्तिक पहिलो साता शाखा अधिकृतको प्राविधिकतर्फ चार सय ७२ पदमा विज्ञापन गरेको थियो । सो विज्ञापनमा ३१ हजार ५ सय १७ जनाले दरखास्त पेस गरेका थिए । मंसिरको पहिलो बुधबार शाखा अधिकृतको अप्राविधिकतर्फ ५ सय ८ पदमा दरखास्त आह्वान गरिएको थियो । सो आह्वानअनुसार २१ हजार आठ सय ९९ जनाले दरखास्त पेस गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका