चितवन, माघ २१–
अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) वीरेन्द्र बहुमुखी क्याम्पस कमिटीले शुक्रबार वृहत हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ ।
स्नातकोत्तर भवन नौबिघाहामा भएको प्रतियोगितामा बीएस्सी चौथो वर्ष रसायन शास्त्र शंकायका विद्यार्थीहरु पहिलो भएका छन् । प्रतियोगितामा बीएस्सी तेस्रो वर्ष भौतिक शास्त्र शंकायका विद्यार्थीहरु दोस्रो, बीएस्सी तेस्रो वर्ष भौतिक शास्त्र शंकायकै विद्यार्थीहरु तेस्रो र बीएस्सी तेस्रो वर्ष माइक्रोबायोलोजी शंकायका विद्यार्थीहरु सान्त्वना भएका छन् । हाजिरीजवाफ प्रतियोगिताका विजेताहरुलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको अनेरास्ववियू चितवनका प्रचार विभाग प्रमुख विमल केसीले जानकारी दिए । प्रतियोगितामा वीरेन्द्र बहुमुखी क्याम्पसका विभिन्न तह र शंकायमा अध्ययन गर्ने विद्यार्थीहरुको २७ वटा समूहले भाग लिएको थियो । तीन चरणमा सम्पन्न गरिएको प्रतियोगितामा ११ वटा समूह दोस्रो चरणमा प्रवेश गरेका थिए भने फाइनल राउण्डमा छ वटा समूह प्रवेश गरेका थिए ।
हाजिरी जवाफ प्रतियोगिता अनेरास्ववियू वीरेन्द्र बहुमुखी क्याम्पस कमिटीका अध्यक्ष लिलाराम पौडेलको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको प्रमुख अतिथि अनेरास्ववियू चितवनका अध्यक्ष देवप्रसाद पाठक रहेका थिए । प्रतियोगितामा वीरेन्द्र बहुमुखी क्याम्पसका निवर्तमान स्ववियु सभापति निरज भट्ट, जिल्ला सचिव प्रकाश आचार्य, निवर्तमान अध्यक्ष एवम् जिल्ला प्रचार विभाग प्रमुख विमल के.सी. लगायतले मन्तव्य राखेका थिए ।