Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
६ महिनामा २१ वटा गाडी त्रिशूलीमा खस्यो – Gaule Khabar

६ महिनामा २१ वटा गाडी त्रिशूलीमा खस्यो

६ महिनामा २१ वटा गाडी त्रिशूलीमा खस्यो

दिपेन्द्र अधिकारी,

चितवन माघ १७-

साउनदेखि माघ १६ गतेसम्मको अवधिमा २१ वटा गाडी त्रिशूलीमा खसेका छन् । त्रिशुलीमा डुबेर हालसम्म १८ जना बेपत्ता, ३५ जनाको मृत्यु र ७९ जना घाइते भएका छन् । चालकको लापरवाहीका कारण घटना भएको ट्राफिक प्रहरीकोे अध्ययनले देखाएको छ । ११ वटा घटना रातको समयमा भएका छन् ।

६ महिना १६ दिनको अवधिमा मुग्लिनदेखि जुगेडीसम्मको क्षेत्रमा १३ वटा गाडी त्रिशूलीमा खसेको छ । मुग्लिनदेखि चितवन धादिङको सिमाना मौवा खोलासम्मको क्षेत्रमा ८ वटा गाडी त्रिशूलीमा खसेका छन् । खसेका मध्ये केही गाडी त्रिशूलीमा हालसम्म पनि हराइरहेका छन् । आइतबार मात्र दुई ट्रक दारेचोक ४ स्थित नाग्दी खोला क्षेत्रबाट त्रिशूलीमा खसेका छन् । आइतबार त्रिशूलीमा ट्रक डुब्दा त्यसमा सवार गोरखा नारेश्वर ९ वस्ने वर्ष ३७ को कृष्णबाबु बस्नेत हालसम्म फेला नपरेको प्रहरीले जनाएको छ ।

साउन महिनामा ४ वटा गाडी त्रिशूलीमा खसेकोमा, भदौमा ४, असोज ४, कात्तिकमा २, मंसिर १, पुस २ र माघको १६ गते सम्ममा ४ वटा गाडी त्रिशूलीमा खसेका छन् । सबै भन्दा बढी १४ वटा ट्रक यसबीचमा त्रिशूलीमा खसेका छन् । ३ वटा बस, २ वटा जीप, एउटा एम्बुलेन्स र एउटा ट्रयाक्टर त्रिशूलीमा खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

२१ दुर्घटना मध्ये भदौ १० गते चण्डिभन्ज्याङ–५ मा भएको बस दुर्घटना र असोज ९ गते दारेचोक–३ घोप्टेभीरमा भएको पूर्व गृहमन्त्री माधव घिमिरे सवार जीप दुर्घटना बढी चर्चा र चासोको विषय बनेको थियो । रौतहटको गौरबाट पोखरातर्फ जाँदै गरेको ग १ ख ३७०९ नं को रात्रि बस अनियन्त्रित भई सडकबाट २०० मिटर तल त्रिशूली नदीमा खस्दा २५ जनाको मृत्यु भएकोमा १० जना बेपत्ता छन् ।त्यस्तै पूर्वगृहमन्त्री माधव घिमिरे समेत सवार रहेको बा ९ च १५३१ नं को जिप अनियन्त्रित भई सडकबाट २०० मिटर तल त्रिशूली नदीमा खस्दा ४ जनाको मृत्यु भएको र २ जना हालसम्म बेपत्ता छन् । बेपत्ता हुनेमा घिमिरे समेत छन् ।

‘अधिकांश घटनामा गाडी चालकको लापरवाही नै मुख्य कारण देखिएको छ’, चितवन प्रहरी प्रमुख एसपी दीपक थापाले भने, ‘चालक आफै संवेदनशील र सचेत नहुँदा दुर्घटना भइरहेका छन् ।’ चालकको कम उमेरका कारण परिपक्वता नहुनु, बढी आत्मविश्वासी बन्नु, जथाभावी उछिन्न खोज्नु, बाटोको अवस्थाबारे ध्यान नदिनुलगायतको समस्याका कारण दुर्घटना भइरहेको एसपी थापाले बताए ।

मुग्लिन नारायणगढ सडक क्षेत्रमा बाटो निर्माण भएकाले चालकले ध्यान नदिँदा दुर्घटना हुने गरेको चितवन ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तले बताए । निर्माणधीन बाटोको अवस्थाबारे थाहा हुँदा पनि हतार गर्ने प्रवृत्तिले घटनाहरु हुने गरेको उनले बताए ।

दारेचोक–४ नाग्दी खोला नजिक वीरगंजबाट काठमाडौंतर्फ चामल लोड गरी जाँदै गरेको ना ५ख ५६५४ नम्बरको ट्रक आइतबार अनियन्त्रित भई सडकबाट त्रिशूली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रक चालक धादिङ खयरघारी २ बस्ने वर्ष २० को रामशरण वाग्लेलाई ट्रकबाट उद्धार गरिएको प्रहरीले जनाएको छ । वाग्लेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

त्यस्तै आइतबार नै दारेचोक–३ कुरिनटारमा वीरगंजबाट काठमाडौतर्फ जाँदै गरेको ना ६ ख ४७२९ नं को लामखुट्टे धुप लोड गरेको ट्रक अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । घटनामा सिन्धुपाल्चोक चकचमे–३ बस्ने वर्ष २६ को चालक हरि बस्नेत र सहचालक सोही ठाउँका वर्ष १८ को निरज भुजेलको भरतपुरमा उपचार भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका