चितवन, माघ १६–
प्रेम दिवसलाई युवा युवतीहरुको चाडको रुपमा लिइन्छ । यही दिवसलाई महत्वपूर्ण र मनोरञ्जनात्मक बनाउन पर्यटकीय नगरी सौराहा सिंगारिदै छ । प्रेम दिवसलाई मध्यनजर गरि रेष्टुरेण्ट एण्ड बार एशोसियसन सौराहा (रेबान) पाँच दिने ११ औं सौराहा फुड फेष्टिबल–२०७३ रत्ननगर–१७ स्थित सिसुवार खेल मैदानमा आयोजना गर्दैछ ।
यही माघ २९ देखि फागुन ४ गतेसम्म “प्राकृतिक सौन्दर्यता, चितवन सौराहाको विशेषता” भन्ने मुल नारासहित फुड फेस्टिवल आयोजना हुन लागेको हो । सो फेस्टिवल तयारी तिव्र पारिएको आयोजक रेवानले आज पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।
पर्यटकहरुको लागि अफ सिजनको रुपमा मानिएको यस समयमा आन्तरिक पर्यटन प्रवद्र्धनका लागि रेवानले फेस्टिवलको सुरुवात गरेको थियो । विगतका वर्षहरुदेखि आन्तरिक पर्यटकले भरिभराउ हुन थालेपछि यसको महत्व झनै बढेको रेवान सौराहाका अध्यक्ष राजन भट्ट बताउँछन् ।
फेस्टिवलमा साँस्कृतिक कार्यक्रमसंगै विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरु मूख्य आकर्षणहरु रहेका छन् । साँस्कृतिक कार्यक्रम अन्तरगत जिल्लामा रहेका आमा समूह, भजन समूहलगायत अन्य संघसंस्थाको झाँकी प्रदर्शन तथा प्रतियोगिता, विभिन्न जातजातिहरुको साँस्कृतिक प्रदर्शनी, राष्ट्रिय तथा ख्याती प्राप्त कलाकारबाट आधुनिक, लोकदोहोरी गीतको प्रस्तुती, हास्यव्यंग र नृत्य प्रस्तुती रहने कार्यक्रम संयोजक नरेश गिरीले जानकारी दिनुभयो ।
उहाँका अनुसार अन्य प्रतियोगिता अन्तरगत रेष्टुरेण्ट कर्मचारीबीच वेटर रेस प्रतियोगिता, प्रेम पत्र लेखन प्रतियोगिता, पत्रकारहरुबीच चिचर खाने प्रतियोगिता, रतौली गीत प्रतियोगिता, भजन चुड्का प्रतियोगिता, बालबालिकाहरुबीच बेलुन फुटाउने प्रतियोगिता रहने छ ।
पत्रकार सम्मेलनमा बोल्दै क्षेत्रीय होटल संघ नेपाल चितवनका अध्यक्ष सुमन घिमिरेले यस्तो कार्यक्रमले आन्तरिक पर्यटन प्रवद्र्धन गर्न मद्धत पुग्ने बताउनुभयो । उहाँले हाल सौराहाको पर्यटनलाई ३० प्रतिशत आन्तरिक पर्यटकले ओगटेको भन्दै यसलाई अझै बढाउन सबै लाग्नुपर्ने बताउनुभयो । उहाँले यस्ता कार्यक्रमबाट बचेका आम्दानीबाट सौराहालाई व्यवस्थित बनाउन विभिन्न कार्यक्रमहरु हुने भएकाले पनि यसको महत्व बढेको बताउनुभयो ।
फुड फेस्टिवलमा ५५ लाख आम्दानी गर्ने र ४५ लाख खर्च हुनेछ आयोजकले जनाएको छ ।
सौराहा पुग्ने पर्यटकहरुलाई छुटै छुट
रेवान सौराहाले फुड फेस्टिवलको मौका पारी आउने पर्यटकहरुलाई लक्षित गरि विभिन्न छुटका अफरहरु ल्याएको छ ।
फुड फेस्टिवलको अवधिभर सौराहा रेवानमा आवद्ध रेष्टुरेण्टहरुमा १५ प्रतिशत छुट, क्षेत्रीय होटल संघमा आवद्ध होटलहरुमा १५ प्रतिशत छुट र साना पर्यटन व्यवसायी समूहमा आवद्ध व्यवसायीहरुले आफ्नो सामान खरिदमा ३० प्रतिशत छुटको व्यवस्था गरिएको छ । यस्तै कार्यक्रम स्थलबाट हात्ती सफारी र डुंगा सयरको व्यवस्था गरिएको छ ।