काठमाडौं,माघ १५ –
नेपाल पर्यटन बोर्डले ‘घुमफिर वर्ष–२०७३’ सफल भएको बताएको छ । बोर्डका प्रमुख कार्यकारी निर्देशक दीपकराज जोशी सुरुका महिनामा ‘घुमफिर वर्ष–२०७३’ प्रभावकारी नदेखिए पनि पछिल्ला महिनामा डिजिटल मोर्केटिङका कारण आन्तरिक पर्यटनको दर बढेको बताउँछन् ।
“भूकम्पले पर्यटन सिथिल थियो, बाह्य पर्यटक आउन छाडेका थिए, त्यसैले आन्तरिक पर्यटन मार्फत भएपनि पर्यटन प्रद्र्धन गर्नुपर्छ भनेर हामीले यो कार्यक्रम घोषणा गरेका थियौैं,” निर्देशक जोशीले भने, “अभियान घोषणका सुरुका महिनामा कार्यक्रम नै प्रभावकारी नहुने जस्ता देखिए पनि भदौपछि भने आन्तरिक पर्यटकको अवस्था उत्साहजनक छ ।”
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत कार्यक्रमलाई प्रभावकारी बनाउँदै लगेको बताए । “फेसबुकमा क्रियाशिल रहेका ग्रुपहरुसँग हामी इंगेज भएपछि अभियान प्रभावकारी बन्दै गयो,” उनले भने, “१३र१४ सय आन्तरिक पर्यटक जाने रारामा अहिले ४० हजार आन्तरिक पर्यटक पुगेका छन् ।”
डिजिटल मार्केटिङमा जानुको विकल्प नरहेको भन्दै उनले अब विस्तारै डिजिटलाइजेशनतर्फ बोर्ड अगाडि बढेको उनको भनाइ छ ।
बोर्डसँग ‘घुमफिर वर्ष–२०७३’ अन्तरगत अहिलेसम्म आन्तरिक पर्यटनतर्फ कतिले भ्रमण गरे भन्ने यकिन तथ्यांक छैन । तर, मुख्य मुख्य गन्तब्यमा पुगेका आन्तरिक पर्यटकको संख्या भने बोर्डसँग छ । अघिल्लो महिनासम्मको तथ्यांक अनुसार अहिलेसम्म सबैभन्दा धेरै गोरखाको मनकामना ११ लाख पुगेका छन् । सह–प्रवक्ता सुदन सुवेदीका अनुसार ७ लाख लुम्बिनि पुग्दा खोटाङको हलेसी ५ लाख पुगेका छन् । ४ लाख पोखरा पुगेका छन् भने ३ लाख जनकपुर पुगेको सुवेदीले बताए ।
विभिन्न समयमा विभिन्न व्यक्तिले खिचेका विभिन्न गन्तब्यका तस्बिर प्रदर्शन गरेर आन्तरिक पर्यटनलाई बढावा दिने काम बोर्डले गरिरहेको कार्यकारी निर्देशक जोशीको भनाइ छ ।
छिमेकी भारत तथा चिनमा आन्तरिक पर्यटनको दर उच्च रहे पनि नेपालमा भने त्यो निकै न्यून रहेको बताए । “छिमेकी भारत र चीनमा विदा तथा अनुकुल समयमा आन्तरिक पर्यटनमा निष्किे संस्कृति नै बनेको छ,” निर्देशक जोशीले भने, “हाम्रोमा यो कल्चर बसिसकेको छैन । ‘घुमफिर वर्ष–२०७३’ ले यो कल्चरको विकास गर्दै गएको छ । बाह्यसँगै आन्तरिक पर्यटनलाई पनि प्रबद्र्धन गर्नुपर्ने अवस्था छ ।”
सरकार तथा पर्यटन बोर्डले भूकम्पले बाह्य पर्यटनक आगमनको अवस्था न्यून भएपछि सरकारले आन्तरिक पर्यटनको दर उच्च बनाएर पर्यटन व्यवसायलाई चलायमान बनाउन २०७३ लाई घुमफिर वर्षका रुपमा मनाउने घोषणा गरेको थियो ।