दमौली, माघ १४–
तनहुँ जिल्ला अदालतबाट विभिन्न मितिमा कैद सजाय तोकिएका फरार ३५ जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
फरार अभियुक्तको खोजी गरिएको दुई हप्तामै उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक मनोज पाण्डेले बताउनुभयो । पक्राउ परेकामध्ये छ जनालाई कैद भुक्तानका लागि थुनामा राख्न कारागार पठाइएको र बाँकी व्यक्ति जरिवाना रकम तिरी छुटेको उहाँले जानकारी दिनुभयो ।
हत्यामा संलग्न व्यक्तिलाई पुर्पक्षका लागि जेल चलान गरिएको र अंशबण्डा, गाली बेइजती, ज्यान मार्ने उद्योगजस्ता मुद्दामा आदेश भएका अभियुक्तलाई पक्राउ गरी जरिवाना गराएर छाडिएको हो ।
अदालतबाट फैसला भई कैद तथा जरिवाना तोकिएपछि फरार रहेका ५१८ मध्ये ती व्यक्तिलाई प्रहरीले पक्राउ गरेको प्रहरी उपरीक्षक उमेशराज जोशीले बताउनुभयो । –रासस