वीरगन्ज माघ, १४ –
बालबालिकालाई प्रयोग गरेर भिख मगाउने समूह अहिले वीरगन्ज नगरक्षेत्रमा सक्रिय भएका छन् । हातमा सरकारी अस्पतालको पुर्जी लिई ८ वर्ष देखि १४ वर्षसम्मका बालबालिका बाटोमा भिख माग्दै हिड्ने गरेको यहाँ आउने जो कोहिले सजिलै देख्न सक्छन् । भारतको नरकटियागन्ज, मोतीहारी, बेतिया र समस्तीपुरलगायतका बालबालिका ल्याएर वीरगन्ज नगरमा भिख मगाउने समूह सक्रिय भएका छन् ।
भारतीय सिमावर्ती शहर रक्सौलस्थित रेल्वे स्टेसन नजिकै घरमा डेरा गरी बसेका मगन्ते ‘समूह’ का सदस्यले नक्कली अस्पतालको पुर्जी र नक्कली डाक्टरको हस्ताक्षर गरी आफन्तको उपचार गराउनुपर्ने भन्दै स–साना बालबालिकासँग भिख मगाउने गरेका छन् । भिख माग्दै गरेका भारत बिहार घर भएकी अन्दाजी ११ वर्षीय हिना (नाम परिर्वतन) ले भिख मागेर आफूले दैनिक चार सयदेखि पाँच सयसम्म उठाउनुपर्ने बाध्यता रहेको बताइन् । यो पेसामा आउनु भन्दा अगाडि आफूलाई केही हप्ता तालिम दिएको उनले बताइन ।
भिख माग्ने पेशामा आफूजस्तै अन्य केटाकेटी पनि संलग्न रहेको उनले सुनाइन् । ‘अहिले म वीरगन्जमा भिख माग्दै हिडेकी छु, भोलि कता पठाउँछन् मलाई थाहा हुँदैन,’ उनी भन्छिन् ‘जुन दिन कम रकम उठ्छ, त्यो राति खाना कम र गाली धेरै खानुपर्ने हुन्छ ।’ यसरी वीरगन्ज नगरक्षेत्रमा स–साना बालबालिकालाई प्रयोग गरेर मगन्तेको समूह सक्रिय भएको सम्बन्धमा पर्साका स्थानीय प्रहरी प्रशासनले भने खासै चासो दिएको छैन ।
बजारमा साना बालबलिका हातमा सेतो कागज लिई उपचारका लागि रकम उठाउने गरेको जानकारी आए पनि यस कार्यमा मगन्तेको समूह नै सक्रिय रहेको विषयमा जानकारी नभएको प्रहरीको भनाइ छ ।