काठमाडौं,माघ १३ –
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष ओमप्रकाश शर्मा नेतृत्वमा सङ्घका पदाधिकारी सम्मिलित एक टोलीले ऊर्जामन्त्री जनार्दन शर्मासँग भेट गरी बारा–पर्सा औद्योगिक कोरिडोरलाई लोडशेडिङमुक्त गराउन माग गरेको छ ।
अध्यक्ष शर्माले कोरिडोरमा नियमित विद्युत् आपूर्तिका लागि सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँदै आएकोमा सकारात्मक परीणाम आउन नसकेकाले विभागीय मन्त्रीलाई नै भेटेर सोबारे जानकारी गराइएको बताए । टोलीले मन्त्रालयमा पुगी मन्त्रीसँग भेट गरेको हो ।
मन्त्री शर्माले पर्सा–बारा क्षेत्रमा नियमित विद्युत् आपूर्तिका लागि आफू गम्भीर रहेको बताएको अध्यक्ष शर्माले जानकारी दिए । काठमाडौंलाई लोडशेडिङमुक्त गरिसकेको र दोस्रो चरणमा पर्सा–बारालाई लोडशेडिङमुक्त गर्ने आश्वासन उनले दिए । भारतबाट आयात हुन लागेको ५० मेगावाट विद्युत् पर्सा–बारा क्षेत्रको उद्योगलाई आपूर्ति दिने मन्त्री शर्माले बताए । अध्यक्ष शर्माले औद्योगिक कोरिडोरमा नियमित विद्युत् आपूर्तिको व्यवस्थाका लागि आवश्यक पहल गरिदिन आग्रह गरे ।
टोलीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकसँग पनि भेट गरेको छ । भेटमा अध्यक्ष शर्माले मन्त्री लेखकलाई राजधानीबाट हेटौंडा–वीरगञ्जको छोटो दूरीको फर्पिङको बाटोलाई स्तरोन्नति गर्न माग गरे । काठमाडौं–हेटौंडा–वीरगञ्ज जोड्ने फर्पिङको बाटो फराकिलो पारी स्तरोन्नति गर्न आफू गम्भीर रहेको मन्त्री लेखकले बताए । टोलीले अर्थमन्त्री कृष्णबहादुर महरालाई पनि भेटेर वीरगञ्ज क्षेत्रको विकासका लागि अवश्यक बजेट विनियोजनको माग गरेको छ । भेटमा सङ्घका कोषाध्यक्ष रवीन्द्र बरनवाललगायत पदाधिकारी सहभागी थियो ।