चितवन,माघ १३-
राष्ट्र र जनताको मुक्तिका लागि भन्दै एकीकृत जनक्रान्तिको कार्यदिशा अगाडि सारेर हिंसात्मक कृयाकलाप गरि राज्यलाई दबाब दिंदै आएको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी¬) ले चितवनमा चन्दा आतंक शुरु गरेको छ ।आगामी फागुन १ गते खुल्लामञ्चमा आठौं राष्ट्रिय अधिवेशन सम्पन्न गर्ने नाममा नेत्रविक्रम चन्द विप्लवले आर्थिक सहयोगको नाममा जिल्ला सेक्रेटरी शंकरको हस्ताक्षरमा विभिन्न संघ संस्थाहरुमा चन्दा आतंक मच्चाएका छन् ।उक्त सम्मेलनमा आर्थिक, नैतिक, भौतिक सहयोग र सहभागिताको आवश्यकतालाई पार्टीले उच्च रुपमा लिएको भन्दै विभिन्न संघ संस्थाहरुमा पत्र पठाई विप्लवले मनपरी ढंगले चन्दा आतंक मच्चाएका हुन् ।
विभिन्न क्षेत्रमा पत्र पठाई विप्लव माओवादीले सहयोगको नाममा लाखौं रुपैयाँ माग गरेको छ ।मनपरी ढंगले पत्र पठाएर चन्दाको नाममा आतंक सृजना गरेको व्यवसायीले गुनासो गरेका छन् । मंगलवार सांझ मात्र विप्लव माओवादीका कार्यकर्ताले चितवन मेडिकल कलेजका प्रवन्ध निर्देशक डा. हरिशचन्द्र न्यौपानेको गाडी तोडफोड गरेका थिए । यो घटनालाई पनि आर्थिक लेनदेनसंग जोडेर घटाइएको स्रोतले जनाएको थियो ।
चितवनमा चन्दा आतंक वढेपनि प्रशासनले भने कुनै खवर नभएको जनाएको छ । खवर पाउनासाथ अनुसन्धान र कारवाही अघि वढाउने चितवनका प्रहरी प्रमुख दिपक थापाले नारायणी अनलाइनलाई जानाकारी दिनुभयो ।