पाँचथर,माघ १३ –
स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जवेगुले स्थानीय तहको चुनाव गर्न सरकार तयार रहेको बताउनुभएको छ ।
पाँचथरको फिदिममा आज प्रेस सेन्टर, पाँचथरले गरेको पत्रकार सम्मेलनमा उहाँले अब १५ दिनभित्रमा निर्वाचनको मिति घोषणा हुने उल्लेख गर्नुभयो ।
मुलुकले संविधान पाए पनि कार्यान्वयनको चरणमा गइनसकेको हुँदा अब स्थानीय तहको चुनावसँगै मुलुक संविधान कार्यान्वयनको बाटोमा जाने उहाँले बताउनुभयो ।
स्थानीय तहको निर्वाचनका लागि सबै दलहरुसँग छलफल तथा सहकार्य गरेर अघि बढ्नुपर्ने भएकाले अहिले छलफल र संवाद चलिरहेको उहाँले जानकारी गराउनुभयो ।
एक वर्षभित्रमा तीनवटै तहको निर्वाचन गरिसक्नुपर्ने भएकाले पनि तत्काल स्थानीय निकायको निर्वाचन गर्न अपरिहार्य रहेको उहाँको भनाइ छ । – रासस