वीरगन्ज,माघ १३-
वीरगन्ज नाकाबाट तेस्रो मुलुकका पर्यटकको आवागमन घटेको छ । सन् २०१५ को तुलनामा सन् २०१६ मा यो नाकाबाट पर्यटकको आवागमन घटेको अध्यागमन कार्यालयको तथ्यांकले देखाएको छ ।
गत वर्ष ६ महिना लामो बन्द हडतालले यस नाकालाई प्रभावित गरेको थियो । कार्यालयको तथ्यांकअनुसार सन् २०१६ मा यो नाकाबाट ९ सय ९ जना तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिएकामा ९ सय ६ ले नेपाल छाडेका थिए ।
सन् २०१५ मा ९ सय ५० पर्यटक यो नाकाबाट नेपाल प्रवेश गरेकामा ९ सय ३६ बाहिरिएको तथ्यांक छ । सन् २०१६ मा आफ्नै मुलुकबाट भिसा लिएर २ सय ५२ पर्यटक आए । त्यसअघि आफ्नै मुलुकबाटै भिसा लिएर २ सय २१ पर्यटक भित्रिएका थिए । सन् २०१६ मा सबैभन्दा बढी डिसेम्बर महिनामा यो नाकाबाट १ सय ११ पर्यटक भित्रिएका र २ सय ५० बाहिरिएका छन् । सबैभन्दा कम जुन महिनामा २२ जना भित्रिएका र ३१ बाहिरिएका छन् ।
सन् २०१५ मा सबैभन्दा बढी मार्च महिनामा २ सय ७ जना भित्रिएका र १ सय ६६ बाहिरिएका थिए । जुन महिनामा सबैभन्दा कम २०/२० जना आएका र बाहिरिएका थिए । नाकाबाट बढी आवागमन गर्नेमा अमेरिका, क्यानाडा, अस्ट्ेलिया, जापान, दक्षिण कोरिया, बेलायत, जर्मनी, थाइल्यान्ड, फ्रान्स, चीन आदि गरी करिब ५० मुलुकका पर्यटक हुने गरेको कार्यालयका नासु शिवशंकरप्रसाद यादव बताउँछन् । यो नाकाबाट भित्रिने अधिकांश पर्यटकको नेपालको मुख्य गन्तव्य राजधानी काठमाडौं र पोखरा पुग्नु हो ।
वीरगन्ज वरपर पर्यटकलाई आकर्षित गर्ने पर्यटकीयस्थलको अभाव भएकाले पनि सकेसम्म यस्ता पर्यटक छिटो यी गन्तव्यसम्म पुग्न चाहन्छन् । यहाँबाट बाहिरिने अधिकांशको गन्तव्य भारतको प्रसिद्ध बौद्ध धार्मिकस्थल बोधगया हुने गरेको छ । यसबाहेक दिल्ली, कोलकाता, मुम्बई आदि सहर पुग्नेहरू धेरै हुन्छन् । नासु यादवका अनुसार पछिल्ला केही वर्ष लुम्बिनीमा आउने पर्यटकले नाका परिवर्तन गरेको हुन सक्ने अनुमान छ ।