काठमाडौं, १२ माघ –
नेपाल विद्युत प्राधिकरणमा पुनः अर्को तनाव सुरु भएको छ । मंगलवार प्राधिकरणले क्षेत्रीय प्रशासन अन्तर्गतका २५ सय कर्मचारीको एकैपटक सरुवा गरेपछि नेपाली कांग्रेस र एमाले समर्थित कर्मचारी युनियनहरूले आन्दोलन छेडेका छन् ।
यी दुई कर्मचारी संगठनले चुनावी मुखमा ठूलो संख्यामा सरुवा गरिएको भन्दै आन्दोलन गरेका हुन् ।
‘कर्मचारी सरुवाको नाममा कर्मचारीलाई आतंकीत पार्ने काम भयो,’ नेकपा एमालेनिकट नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनका अध्यक्ष रामेश्वर पौडेलले भने ।
‘गत भदौमा कार्यालय प्रमुखको सरुवा गर्नुपथ्र्यो, गरिएन, असोजमा प्रशासनको सरुवा गरिनुपथ्र्यो, त्यो गरिएन र कात्तिकमा लेखा प्रमुखको गरिनुपर्ने सरुवा पनि हुन सकेन,’ पौडेलले भने, ‘अहिले चुनावको मुखमा आएर कर्मचारीलाई आतंकीत पार्ने काम भयो ।’
आसन्न चुनावलाई प्रभावित पार्नेगरी ठूलो संख्यामा सरुवा गरिएको युनियनको आरोप छ । ‘हामी चुनावी प्रचारमा लागिरहेका थियौं, तर यसलाई प्रभावित पार्ने काम भयो,’ उनले थपे । आफूहरूमाथि प्राधिकरणले षडयन्त्र गरेको उनको आरोप छ ।
प्राधिकरणमा विगत १२ वर्षदेखि हुन नसकेको आधिकारीक कर्मचारी युनियनको चुनाव आगामी फागुन १८ गतेका लागि तय भएको छ ।
त्यस्तै, नेपाली कांग्रेस समर्थित कर्मचारी संगठनले पनि यसको विरोध गरेको छ । निर्वाचन समिति गठन भएर चुनावी प्रचारमा लागेको बेला प्रशासनले पूर्वाग्रहीपूर्ण ढंगले सरुवा गरेको नेपाल विद्युत प्राधिकरण कर्मचारी संघको ठहर छ ।
‘प्राधिकरणले जंगी शासन लाद्न खोज्यो,’ संघका अध्यक्ष जनार्दन भट्टराईले भने, ‘दुइचारजना बसेर निर्णय गरे, यो खारेज हुनुपर्छ ।’
सम्बन्धित क्षेत्रीय कार्यलयले गर्नुपर्ने निर्णय दुइचार जना मिलेर गरेकाले आफूहरूलाई मान्य नहुने उनले बताए । त्यस्तै कर्मचारी संगठनहरुले विद्युत चोरीमा संलग्नहरुलाई प्रहरीले पक्राउ गरेकोमा पनि विरोध जनाएका छन् ।
दुई संगठनले सरुवा विनियम विपरीत भएको जनाइरहँदा नेकपा माओवादी केन्द्र निकट राष्ट्रिय कर्मचारी संगठनले भने सरुवाको स्वागत गरेको छ ।