इटहरी, माघ १२ –
वासस्थानको अभावमा कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा आउने साइबेरियन चरा वर्षेनी घटिरहेका छन् ।
साइबेरियन एवम् घुमन्ते चराका लागि स्वर्गभूमि मानिदै आएको कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा सप्तकोसी नदीले पश्चिम कुशाहाबाट पूर्वी तटबन्ध भत्काएपछि वासस्थानको अभावमा यहाँ आउने चरामा कमि आएको हो ।
चरा अध्ययनका लागि प्रमुख केन्द्र मानिदै आएको कोसीटप्पु क्षेत्रमा केही वर्षयता चरा आउने क्रममा निकै कमी देखिन थालेको स्थानीयले बताएका छन् ।
सात वर्षअघि सप्तकोसीको बाढीले सुनसरीको कोसीटप्पु वन्यजन्तु आरक्ष र आसपास क्षेत्रका कतिपय सिमसारक्षेत्र मासिएका थिए । भएका सिमसारक्षेत्र पनि जलकुम्भी झारले ढाँकिएको र त्यसको सफाइमा आरक्षले ध्यान नदिइएकाले चराका लागि वासस्थान अभाव हुँदै आएको छ ।
पर्या पर्यटन संरक्षण समिति सुनसरीका कुर्वान मन्सुरीले सप्तकोसी कटान र त्यसपछिको मानवीय गतिविधिका कारण सीमसारक्षेत्र सुक्न थालेकाले वासस्थानको अभावमा यहाँ चरा आउने क्रममा कमि आएको बताउनुभयो ।
विगतमा जाडो याम सुरु हुनासाथ साइबेरिया, पाकिस्तान, चीन, अफगानिस्तान, भारत र दक्षिण पूर्वी एसियाका विभिन्न मुलुकबाट झुन्डका झुन्ड टप्पुमा आउने चरा पछिल्लो समयमा देखा पर्न छाडेको मन्सुरीले भन्नुभयो ।
चराको सङ्ख्या घटेकाले सीमसार क्षेत्रमा दुर्लभ चराको अवलोकन र अनुसन्धान गर्न बर्सेनि आउने चरा अनुसन्धानकर्ता समूह पनि घटेका छन् । आसपास क्षेत्रका खेतबारीमा विषादीको प्रयोग बढ्नुले पनि चराको गतिविधि प्रभावित भएको पाइएको मन्सुरीले बताउनुभयो ।
कोसीटप्पुको सिमसार क्षेत्रमा विश्वमै दुर्लभ मानिएकासहित पाँच सयभन्दा बढी प्रजातिका चरा पाइने तथ्याङ्क छ ।
यसैगरी दुर्लभ नीलगाईलगायत अर्नाको पनि मुख्य वाससस्थान रहदै आएको यो आरक्षमा पिंटेल, मलर्ड, गुज, रेडिसियल डक, बारहेडेड गुजलगायतका पाहुना चरा आउने गरेका छन्, आरक्षका संरक्षण अधिकृत श्यामकुमार साहले भन्नुभयो – ती पाहुना चराले बच्चा कोरलेपछि हुर्काएर फर्कने गर्छन् ।
यसैबीच, ‘हिमालयन नेचर’ नामक संस्थाले कोसीटप्पुमा चरा गणना सुरु गरेका छन् । चरा विज्ञ बद्री चौधरीको नेतृत्वमा अहिले कोसीटप्पु वन्यजन्तु आरक्षभित्र, चतराबाट कोसी ब्यारेजको पुलसम्मको क्षेत्र, बर्जुताल, उर्लाबारी, बेतना र तरहरालगायत क्षेत्रमा चराको अवस्थाबारेमा अध्ययन भइरहेको छ । – रासस