चित्रबहादुर गुरुङ्ग,
चितवन, माघ ११–
चितवनको चण्डिभञ्ज्याङ्ग–९, पैरेनीका मृगौला पीडित युवा रुद्रबहादुर बानियाँको मृगौलाको डायलासिस तथा प्रत्यारोपण उपचारको लागि सहयोगी मनहरुबाट सहयोग आउने क्रम जारी रहेको छ ।
मनकामना एफ.एम ९८.७ मेघाहर्जको संयोजनमा रुद्रको उपचारका लागि थालिएको सहयोग जुटाउने अभियानमा पछिल्लो क्रममा श्री चनौटे महिला समाजसेवी आमा समूह चण्डिभञ्ज्याङ्ग–९, चनौटेले १६ हजार ४ सय ७० रुपैयाँ र सोहि गाउँका संगीता क्षेत्रीले व्यक्तिगत रुपमा १ हजार ५ रुपैयाँ सहयोग गरेका छन् । उनीहरुले पीडितकी आमा रुद्रकुमारी बानियाँको नाममा एपेक्स डेभलपमेन्ट बैंक आँबुखैरेनी शाखामा खोलेको खाता नं. ००७१०७०००६३७२४०००००१ मा सहयोग रकम जम्मा गरिदिएका हुन् । यो सँगै पीडितको उपचारका लागि अहिलेसम्म करिब १ लाख २ हजार २५ रुपैयाँ जम्मा भैसकेको पीडितका आमा रुद्रकुमारीले बताईन् ।
यसअघि प्रवासी युवा मञ्च चण्डिभञ्ज्याङ्ग दोहा कतारको समूहले करिब ५२ हजार, कतारमा कार्यरत विष्णु बानियाँको सहयोगमा करिब २१ हजार र साउदीबाट ईश्वर बानियाँ र नेत्र गुरुङ्गले १० हजार ८ सयका साथै चण्डिभञ्ज्याङ्ग–६, कालिखोला निवासी भूपेन्द्र चेपाङ्ग १ हजार २५ रुपैयाँ सहयोग गरेका थिए । हाल रुद्रको पूर्वी चितवनको टाँडीमा डायलसिस उपचार भैरहेको परिवारले जनाएको छ ।