चितवन, माघ ११–
जिल्लाको पहाडी गाविस दारेचोकको नवौं गाउँपरिषदले आगामी आर्थिक वर्षका लागि ३ करोड ३१ लाख २० हजार ९ सय ३१ रुपैयाँको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
मंगलबार सम्पन्न गाउँपरिषदले सडक निर्माणलाई प्र्राथमिकतामा पारेको छ । दारेचोक गाविसका सचिव निलकण्ठ लामिछानेले सडक निर्माणका लागि ३२ लाख रुपैयाँ बजेट प्रस्ताव गरिएको बताए । उनले सडक सञ्जाल विस्तार गर्ने गरि बजेट विनियोजन गर्ने योजना बनाइएको बताए । उनका अनुसार शिक्षामा २६ लाख रुपैयाँ, लक्षित कार्यक्रम अन्तर्गत महिलाका लागि ७ लाख रुपैयाँ, बालबालिकाका लागि ७ लाख रुपैयाँ, लक्षित समूह तर्फ १० लाख ५० हजार रुपैयाँ प्रस्ताव गरिएको छ ।
यस्तै कृषितर्फ १० लाख ५० हजार छुट्याइएको छ । फलफुल, तरकारी संकलन केन्द्र, कृषि औजार लागयतमा खर्च गर्ने रणनीति लिइएको छ ।
गाउँपरिषद्को सांसद कृष्णभक्त पोखरेल र सांसद गीता वाग्लेले संयुक्त रुपमा उद्घाटन गरेका थिए । सांसद कृष्णभक्त पोखरेलले पहाडी गाविसका रुपमा रहेको दारेचोकको विकास गर्न बनाइएका योजनाहरु कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । उनले प्रस्तावित बजेटले सबै क्षेत्रलाई समेटेको बताए । यस्तै सांसद गीता वाग्लेले दारेचोकलाई विकासको नमुनाका गाउँका रुपमा अघि बढाउनुपर्ने बताइन् । उनले सहज रुपमा स्थानीयले सेवा लिने वातावरण बनाउन सबैको पहल आवश्यक रहेको बताइन् ।
कार्यक्रममा कांग्रेस महासमिति सदस्य गीता गुरुङ्, एमाले जिल्ला सदस्य श्रीप्रसाद कँडेल, माओवादी केन्द्रका केन्द्रीय सदस्य प्रताप गुरुङ लगायतले मन्तव्य राखेका थिए ।