चितवन, माघ ११–
भरतपुर नगर तामाङ समाजले यसवर्षको ल्होछार पर्व धुमधामका साथ मनाउने भएको छ । तामाङ जातिको महान साँस्कृतिक पर्व ल्होछारको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको छ । हरेक वर्ष माघ शुक्ल पक्षको प्रतिपदा तिथिका दिन तामाङ समुदायले आफ्नो साँस्कृतिक परम्पराअनुसार ल्होछार पर्व मनाउँदै आएको र यस पटकको पर्वको लागि तयारी अन्तिम चरणमा पुगेको मंगलबार छेच्यु थर्पलिङ गुम्बा परिसरमा पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो ।
तामाङ समुदायले हरेक वर्ष विभिन्न वर्गलाई आधार मानेर ल्होछार पर्व मनाउँदै आएका छन् । यसवर्ष तामाङ समुदायले च्या ल्हो (चरा वर्ग)को विदाई सँगै टेल्हो (बाँदर वर्ग)लाई विदाई गर्दैछन् । वर्ग चक्रको आधारमा उनीहरुले विसभन्न १२ वटा जीवजन्तुहरुलाई वर्गको रुपमा मान्दै आएका छन् ।
तसर्थ तामाङ समुदायले हरेक वर्षको माघे औँसीको दिनलाई वर्षको अन्तिम दिनकोरुपमा लिने गर्दछन् । सोहीअनुरुप उनीहरुले माघे औँशीको राती १२ वजेपछि पुरानो वर्गलाई विदाई गर्ने र नयाँ वर्गलाई स्वागत गर्ने परम्परा रहिआएको भरतपुर नगर तामाङ समाजका अध्यक्ष गंगालाल लामाले जानकारी दिए ।
चन्द्र पात्रो अनुसार यसवर्ष माघ १५ गते परेको ल्होछार पर्वमा चित्रकला तथा खेलकूद प्रतियोगीता, खुल्ला रक्तदान, ल्होखोर पूजालगायतका कार्यक्रमहरु ऋायोजना गरिने उनले बताए । कार्यक्रमलाई सभ्य र भव्य रुपमा सम्पन्न गर्नका लागि विभिन्न उप–समिति समेत गठन गरेर तयारी गरिएको उनको भनाइ छ ।
दूधपोखरी बौद्ध तामाङ समाज गुठी संस्था भरतपुर, कमलनगर आमा समूह भरतपुर र तामाङ आमा समूह भरतपुरको संयुक्त सह–आयोजनामा हुन लागेको कार्यक्रमलाई भूमिसुधार तथा व्यवस्था मन्त्री बिक्रमबहादुर पाण्डेले उद्घाटन गर्ने आयोजकले जनाएको छ ।