काठमान्डौं, माघ ११-
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ९० दिनलाई पुग्ने गरी पेट्रोलियम पदार्थ भण्डारणको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
आपूर्ति र अर्थ मन्त्रालयलसहित आयल निगमका पदाधिकारीलाई मंगलबार सिंहदरबार बोलाएर प्रधानमन्त्रीले यस्तो निर्देशन दिएको उनको सचिवालयले जनाएको छ। आवश्यक बजेट उपलब्ध गराउने आश्वासन दिँदै प्रधानमन्त्रीले कम्तिमा ९० दिनलाई पुग्ने गरी पेट्रोलियम पदार्थ भण्डारणको व्यवस्था गर्नुस्, भनेका छन्। प्रधानमन्त्रीले अमलेखगञ्ज तथा चितवनसम्म पेट्रोलियम पाइपलाइन निर्माण कार्य यथासक्य सक्ने गरी कामअघि बढाउन निर्देशनसमेत दिए। साथै जनतालाई जे गर्दा राहत हुन्छ त्यही ढंगले काम गर्ने उपाय खोज्न पनि उनले आग्रह गरे।