काठमाडौँ, माघ ८–
वरिष्ठ पत्रकार दुर्गानाथ शर्माले लेख्नुभएको संस्मरणात्मक कृति ‘छाल’ आजदेखि बजारमा आएको छ ।
करिब ४० वर्षसम्म शर्माले सञ्चारका क्षेत्रमा बटुलेका अनुभवलाई पुस्तकमा समेटिएको छ । ‘गोरखापत्र’, ‘रेडियो नेपाल’ र ‘नेपाल टेलिभिजन’का माध्यमबाट गरिएको पत्रकारिता तथा समाचार सङ्कलनका सन्दर्भमा विभिन्न मुलुकमा पुगेका संस्मरण पुस्तकमा पाइन्छ ।
राप्रपाका अध्यक्ष कमल थापाले पुस्तकको विमोचन गर्दै पत्रकारिताका क्षेत्रमा शर्माले सँगालेका ज्ञान तथा विभिन्न राजनीतिक घटनाक्रममा विभिन्न अनुभवको सशक्त अभिव्यक्तिका रुपमा कृति आएको बताउनुभयो । उहाँले दोस्रो जनआन्दोलनपछि राजनीतिलाई सही निर्देशन गर्न नसकिएकाले देश अहिले अप्ठेरो अवस्थामा रहेको बताउँदै राष्ट्रियताका विषयमा सबै दलका नेता एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो ।
वरिष्ठ साहित्यकार प्रा डा तारानाथ शर्माले समाजलाई चनाखो बनाउने र समयसापेक्ष मार्गनिर्देश गर्नका लागि सञ्चार क्षेत्रको महत्व रहेको उल्लेख गर्नुभयो ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले ‘वैदेशिक शक्तिले विभिन्न दललाई सङ्घीयताको विषय उठाउन लगाएकाले मुलुक अहिले विखण्डनको दिशातर्फ गइरहेको’ विचार व्यक्त गर्नुभयो ।
वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले सञ्चार प्रविधिका बारेमा यथेष्ट ज्ञान दिने सो पुस्तक सञ्चार क्षेत्रमा लाग्नेका लागि विशेष उपयोगी रहेको बताउनुभयो । लेखक शर्माले सरकारी सञ्चारमाध्यमको जिम्मेवारी तथा समाचार सम्पादनका क्रममा केही राजनीतिज्ञबाट परेको दबाबका बारेमा पनि उक्त कृतिमा उल्लेख गरिएको जानकारी दिनुभयो ।